Sur Cinema

दयाहाङले सके ‘एञ्जिला’को स्वराङ्कन

काठमाडौं : सिनेमा ‘अञ्जिला’का लागि अभिनेता दयाहाङ राईको स्वराङ्कन (डबिङ) सम्पन्न भएको छ । सिनेमा नेपालमा आगामी फागुन २९ गते रिलिज हुँदैछ ।

सिनेमा ‘अञ्जिला’ महिला राष्ट्रिय फुटबल टिमकी गोलरक्षक एञ्जिला तुम्बापो सुब्बाको जीवनमा आधारित छ । सिनेमालाई निर्देशक मिलन चाम्सले निर्देशन गरेका छन् । चाम्सका अनुसार सिनेमाको लगभग सबै काम पूरा भइसकेको छ र छिट्टै पत्रकार सम्मेलन मार्फत अन्तर्राष्ट्रिय रिलिजबारे घोषणा गरिनेछ ।

सिनेमामा प्रमुख भूमिकामा एञ्जिला तुम्बापो सुब्बा आफैँ देखिनेछिन् । साथै, दयाहाङ राई, सिर्जना सुब्बा, माओत्से गुरुङ, बुद्धि तामाङ लगायतका कलाकारहरूको पनि अभिनय रहेको छ । निर्माता प्रेम कुमार श्रेष्ठले पनि सिनेमामा प्रमुख भूमिका निभाएका छन् । 

सिनेमाको छायाङ्कन एञ्जिलाको जन्मथलो इलामको आइतबारे, झापा र काठमाडौंमा गरिएको हो । सिनेमामा एञ्जिलाको बाल्यकालदेखि खेल जीवनसम्मको सङ्घर्ष र सफलताको कथा देखाइनेछ ।

सिनेमाको छायाङ्कन सुदीप बरालले गरेका हुन् भने सम्पादन मिलन श्रेष्ठले गरेका छन् । मुन लभ इन्टरटेन्मेन्टको ब्यानरमा प्रेम श्रेष्ठले निर्माण गरेको यो सिनेमामा टुबेन्द्र लिम्बु, विनोद अग्रवाल र राजेश बगडिया सह-निर्माता छन् । विनोद सुवेदी खत्रीले सिनेमाको निर्माण नियन्त्रकको भूमिका निभाएका छन् ।