काठमाडौं : साहित्यकार तथा पत्रकार लोकमणि पौडेलको उपन्यास ‘अग्निदहन’ मा आधारित रहेर निर्माण गरिएको शिक्षामूलक सामाजिक सिनेमा ‘अग्निदहन’ हालै भारतको बिहारस्थित सीतामढीमा प्रदर्शन गरिएको छ ।
बिहारको सीतामढीस्थित कमाण्डेन्ट अफ एसएसबी–२० औं बटालियनमा बटालियन प्रमुख गिरीशचन्द्र पाण्डेय र सिनेमाको निर्माण पक्षको उपस्थितिमा सिनेमा प्रदर्शन गरिएको हो । यो सिनेमा नेपालमा आगामी मंसिर ७ गते प्रदर्शन हुँदैछ ।
कार्यक्रममा नेपाल भारत भातृ मञ्चका संस्थापक अध्यक्ष डा. नवलकिशोर सिंह, कार्यक्रम संयोजक मनोहर मिश्र, फिल्मका परिकल्पनाकार तथा मान्छे बोक्सी हुन्न कहिल्यै राष्ट्रिय जागरण प्रतिष्ठान नेपालका अध्यक्ष कोविद शरण उपाध्याय, फिल्मका निर्देशक घनश्याम लामिछाने, निर्देशक शिवजी लामिछाने, प्रतिष्ठानका केन्द्रीय सदस्य नारायण देवकोटालगायतको उपस्थिति थियो । भारत भ्रमणको संयोजन मुरली मनोहर सिंहले गरेका थिए भने कार्यक्रमको सञ्चालन उनले नै गरेका थिए ।
परिकल्पनाकार उपाध्यायका अनुसार आगामी छठ पर्वका अवसरमा सिनेमा ‘अग्निदहन’ राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा शितलनिवासमा प्रिमियर हुँदैछ ।
सिनेमाका निर्देशक घनश्याम लामिछानेले एउटा डरलाग्दो विषयलाई सिनेमामा उठान गरिएको बताए । ‘सिनेमामा थ्रिल, सस्पेन्स सबै छ । उपन्यासलाई हामीले सिनेम्याटिक तवरबाट सिनेमामा उतारेका छौं । सिनेमामा दर्शकले सन्देश र उत्सुकता दुवै पाउनुहुनेछ’, उनले भने ।
सिनेमा मान्छे बोक्सी हुन्न कहिल्यै राष्ट्रिय जागरण प्रतिष्ठान नेपालले निर्माण गरेको हो । यो संस्था बोक्सी कुप्रथालाई शिक्षा र चेतनाको माध्यमद्वारा अन्त्य गरी नेपाललाई बोक्सी कुप्रथाको अन्धविश्वासबाट मुक्त गराएरै छोड्ने अठोटका साथ २०७१ सालमा स्थापना गरिएको हो ।
सिनेमामा प्रकाश घिमिरे, प्रमिला तुलाचन, माओत्से गुरुङ, अनुपमा भण्डारी, तुलसी क्षेत्री, विष्णु वास्तोला, ताराबहादुर गुरुङको अभिनय छ । सिनेमामा भुवनेश्वर शर्मा पौडेल र मोहनराज पौडेल संरक्षक छन् ।
सिनेमामा लोकमणि पौडेलको कथा, पटकथा र संवाद, कोविदशरण उपाध्यायको परिकल्पना, परिच्छेद सेनको मुख्य सहायक निर्देशन, शंकर पाण्डेको प्रोडक्सन डिजाइन, दीर्घ गुरुङको छायांकन, दीर्घ खड्काको सम्पादन, राजेन्द्र मोक्तानको रंग संयोजन छ ।
यो सिनेमालाई निवर्तमान राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली, निवर्तमान प्रधानमन्त्री पुष्पकमल दाहालले हेरिसकेका छन् । सिनेमालाई चलचित्र विकास बोर्डले ‘विशेष चलचित्र अवार्ड’ समेत दिइसकेको छ ।















