Sur Cinema

पूजाको ‘शाहरुख’ पल

काठमाडौं : नायिका पूजा शर्मा बलिउड नायक साहरुख खानकि फ्यान हुन् । र, उनलाई नेपाली नायक पल शाह भने उनका आफ्ना शाहरुख खान हुन भन्ने लाग्छ । सिनेमा “रावायण” प्रदर्शन नजिकिदै गर्दा उनले एक अन्तरवार्तामा पल आफ्ना शाहरुख भएको बताईन ।

‘रावायण’ सिनेमा मार्फत राम नभएर रावणको ‘एङ्गल’बाट कथा देखाउन खोजिएको पल र पूजाको तर्क थियो । सिनेमामा कथा कै लागि भनेर बिदेशबाट लेखकको समूह बोलाएको पूजाले बताउदै थिइन् । शिवम् अधिकारीको कथा रहेको सिनेमामा धेरै भारतिय लेखकको समुहले सहयोग गरेको उनले बताईन । तर, सिनेमा चलाउने कारण बताउदै गर्दा उनले चौथो नम्बरमा कथालाई राखीदिइन ।

पूजाका अनुसार यो सिनेमा पल कै लागि भनेर बनाएको सिनेमा हो । यो सिनेमामा पूजा आफुलाई कलाकार कम र मेकर ज्यादा सोच्ने गर्छिन् । सिनेमालाई राम्रो बनाउन पललाई अब्बल बनाउने उनले जे जति हुन्छ प्रयास गरेको बताएकि छन् । सिनेमाका प्रचार सामाग्रीको फितलो उपस्थिति बारे बचाउ गर्दै उनले पल भएपछि प्रमोसनमा समेत आफू कम हिडेर पनि फुर्सद पाएको बताईन । आफ्नो ‘प्रोडक्ट’ राम्रो भएको कारण प्रचारमा खास समय खर्चिन नपरेको पनि थप्दै गर्दा दर्शकलाई भने उनका पुराना सिनेमाको याद भने पक्कै आएको हुन पर्छ ।

पलले आफ्नो यो सिनेमा सिनेकरियरमा पाँच वटा इटा थप्न सफल सिनेमा बन्नेमा बिश्वस्त रहेको बताए । अन्य सिनेमाले एउटा इटा थप्ने काम गरे पनि यो सिनेमा खास रहेको उनले चर्चा गरे । वर्कसपमा उनलाई निर्देशक सुदर्शन थापा र अर्का कलाकार प्रमोद अग्रहरीले राम्रो प्रशिक्षण गरेको बताउँदै आफुले धेरै सुधार गर्ने प्रयास गरेको सुनाए । सार्वजनिक सामाग्रीमा उनको सुधार दर्शकले स्पस्ट देखिसकेका छन् ।

सिनेमा चल्नेमा पल र पूजा बिश्वस्त छन् । अझ पूजा त “ब्ल्याकमेल” को शैलीमा सिनेमा हेर्न आएर अर्को राम्रो सिनेमा बनाउन सहायता गर्ने कि डकुमेन्ट्री सिनेमा र सिरियललाई सिनेमाको रुपमा हेर्ने दर्शकको रोजाई रहेको बताउन भ्याउछिन् ।

यो टिमका पुराना सिनेमाको काम भन्दा यो सिनेमामा केही भिन्न काम भने देख्न सकिन्छ । सिनेमालाई “भब्य” बनाउन मेकरले प्रयास गरेका छन् । अभिनय र लुक्स पनि केही भिन्न छ । तर, समग्र सिनेमाबारे प्रतिक्रिया दिन तीजको दिन भदौ २१ गते सम्म पर्खिनु पर्ने अवस्था छ ।

दर्शक हल सम्म हुल बाधेर जाने विषयमा पल र पूजा सफल छन् । हल्ला मच्चाउने र पैसा कमाउने कुरामा पल र पूजाले सफलता प्राप्त गरिसकेका छन् । यस्तोमा यो सिनेमाले पलले भने झै यी दुईको करियरमा पाँच वटा इटा थप्न सफल होस शुभकामना ।