Sur Cinema

सिनेमा ‘खुस्मा’को दोस्रो गीत ‘रुकुम मैकोट’ सार्वजनिक

काठमाडौं : असोज ३ गतेबाट प्रदर्शनको तयारीमा रहेको सिनेमा ‘खुस्मा’को दोस्रो गीत ‘रुकुम मैकोट’ सार्वजनिक भएको छ । आइतबार काठमाडौंको कमलपोखरी स्थित बिग मूभिजमा एक कार्यक्रमको आयोजना गर्दै सिनेमाको गीत सार्वजनिक गरिएको हो ।

एसडी योगीको संगीत निर्देशन तथा सुरेन्द्र रानाको शब्द रचना रहेको गीतमा संगीतकार योगी र शान्तिश्री परियारको स्वर छ । सिनेमाको यो गीतमा सिनेमाका मुख्य कलाकार धिरज र उपासनासँग अन्य कलाकारहरु फिचर्ड छन् । रिकेश गुरुङ संगीत निर्माता रहेको गीतको भिडियोमा सुरेन्द्र राईको कोरियोग्राफी हेर्न सकिन्छ ।

एम मिडिया प्रालिको ब्यानरमा निर्माण भएको सिनेमाको लेखन तथा निर्देशन अशोक थापा मगर गरेका हुन् । उनले यसअघि केही डकुमेन्ट्री सिनेमा लेखन तथा निर्देशन गरेपनि यो नै ठुलो पर्दाको पहिलो निर्देशकिय सिनेमा हो ।

सिनेमाको निर्मातामा विर बहादुर लामा, चन्द्र बहादुर भट्टचन, मान बहादुर धनाह मगर र बेतान मगर छन्, भने सह-निर्माता सुस्मिता बुढाथोकी हुन् । सिनेमामा दिपक बज्राचार्यको छायांकन रहेको छ । सिनेमाका यसअघि सार्वजनिक गीत र टिजरलाई दर्शकले रुचाएका छन् ।

सिनेमामा धिरज र उपासनाका अलवा माओत्से गुरुङ, खड्क बहादुर पुन (खबपु), सुजाता राई, विजय सुब्बा, राज थापा काउचा, अस्तित्व भट्टचन, संगीता थापा मगर, अरुन मगर, सारा राई, श्वेता मिश्र, विवेश मगर लगायतका कलाकारको अभिनय रहेको छ ।

एसडी योगी र छान्जु पार्क (कोरियन)को संगीत, सुरेन्द्र राना, राम अविरल बिष्ट र निर्देशक थापा मगरको गीत रचना रहेको छ । सिनेमाको वितरण गोविन्द शाहीको काफिया फिल्मस्ले गर्नेछ ।