काठमाडौं : बसन्त निरौलाको निर्देशनमा तयार भएको सिनेमा ‘ज्वाई साब’को प्रदर्शन मिति तय गरिएको छ । यो सिनेमाको निर्माण टिमले फस्टलुक सार्वजनिक गर्दै सिनेमाको प्रदर्शन मिति फाइनल गरेको हो ।
यो सिनेमालाई असोजको २४ गते फूलपातिबाट देशभरका हलमा रिलिज गर्ने घोषणा निर्माणपक्षले गरेको हो । सिनेमाको एक गीतको मात्र छायांकन गर्न बाँकी छ । हाल सिनेमाको धमाधम पोष्ट प्रोडक्शनको काम भइरहेको छ ।
दशैंको लामो बिदाको फाइदा उठाउने योजनामा निर्माणपक्ष लागेको देखिन्छ । राजकुमार पण्डितको प्रस्तुतिमा तयार भएको यो सिनेमाको शिर्ष भूमिकामा कलाकार जितु नेपाल छन् । उनलाई नायिका नीति शाहले साथ दिएकी छिन् । सिनेमामा वुद्दि तामाङ, शिशिर वाङ्देल, प्रकाश घिमिरे, रमेश वुढाथोकी, निमा पाण्डे, हिमेश पन्त, शिवहरि वैरागी, राजेन्द्र नेपाली, कविता आले, शिवु पाण्डे लगायतका कलाकारहरुको अभिनय छ ।
सिनेमका प्रस्तुततकर्ता पण्डितले सबैसँग सल्लाहा गरेर फूलपातिमा सिनेमा रिलिज गर्न लागिएको जानकारी दिए ।विजय बस्याल कार्यकारी निर्माता रहेको सिनेमामा सविन अधिकारीको कथा, शंकर धितालको पटकथा तथा संवाद छ ।
रेड आई फिल्मस्को प्रस्तुतिमा ओएसआर डिजिटल र मौसम फिल्मस्को सहकार्य रहेको यो सिनेमामा मिनादेवी खड्का, सौगात पण्डित र पदमलाल तामाङको लगानी छ । सिनेमामा श्याम तामाङको डीओपी, अर्जुन पोखरेल र महेश ताम्राकारको संगीत छ । यो सिनेमालाई काठमाडौंमा रिच इन्टरटेन्मेन्ट र मोफसलमा एफडी कम्पनीले वितरण गर्नेछ ।















