काठमाडौं : नेपाली सिने क्षेत्रमा जसले हल्ला गर्यो उसको चर्चा धेरै हुन्छ । उसको अभिनयको भन्दा पनि व्यक्तिगतको कुराले समाचारका पाना भरिन्छन् । बुढापाकाले भन्दै आएको एउटा भनाई छ नि,’बोल्नेको पिठो पनि बिक्छ,नबोल्नेको चामल पनि बिक्दैन।’ यो यहि भनाई लागू हुन्छ अभिनेता नरेन खड्कामा ।
उनी न कसैका लागि मसला छर्ने कुरा दिन्छन् न उनले बोलेको कुराले चर्चा नै पाउँछ । उनले अभिनय गरेको सिनेकर्मीले बाहेक कसैले चर्चा गरेको सुनिदैन । तै पनि उनी लुरु लुरु काम गरिरहन्छन् । नेपाली सिनेमा नगरीका लागि उनी नयाँ कलाकार होइनन् । उनले एक दशक यता दर्जनौ सिनेमामा अभिनय गरिसकेका छन्।
नेपाली सिनेमामा हिरोको रुपमा आफुलाई स्थापिन गराउन सफल अभिनेत्री रेखा थापासँगको सिनेमा ‘हमेशा’बाट अभिनेताका रुपमा प्रवेश गरेका थिए । उनले काम गरेका अधिकांश सिनेमाको चर्चा भयो तर खड्का सदावहार रहे । उनले नेपाली सिनेमाका अलवा भोजपुरी सिनेमामा पनि अभिनय गरेर आफ्नो जादु चलाइसकेका छन् ।
रेखाको ‘हमेशा’बाट अभिनेताका रुपमा सिनेमामा प्रवेश गरेका उनले ‘प्रदेशी’, ‘ठमेल’,‘मन्दिरा’, ‘स्वर्ग मेरो गाउँ’, ‘एउटा यस्तो प्रेम कहानी’ लगायत भोजपुरी सिनेमा ‘रण’ र ‘माही’मा समेत अभिनय गरिसकेका छन् । उनको अभिनयमा रहेको पछिल्लो सिनेमा ‘बुलाकी’प्रदर्शनको तयारीमा रहेको छ ।
यहि साउन ३२ गते बाट प्रदर्शनमा आउन लागेको यो सिनेमा उनलाई चर्चामा ल्याउनेमा विश्वास व्यक्त गरिएको छ । उनले उक्त सिनेमामा फरक भुमिकामा अभिनय गरेको हुनाले उनको चर्चा चुलिनेमा विश्वास गरिएको छ ।















