Sur Cinema

मिथिलाले गरिन गुरुको नाममा पुरस्कार प्रदान

काठमाडौं : कलाकार मिथिला शर्माले आफ्नो नृत्य र अभिनय करियरका गुरुहरुलाई गुरु दक्षिणास्वरुप गुरुको नाममा पुरस्कार प्रदान गरेकी छन ।शर्माले आज आइतबार गुरु पूर्णिमाको अवसर पारेर राजधानीमा एक कार्यक्रम आयोजना गरी आफ्ना गुरुहरुको नाममा पुरस्कार प्रदान गरेकी हुन । नेपाल प्रज्ञा प्रष्ठिानमा आयोजना भएको कार्यक्रममा मिथीलाले आफ्ना गुरुहरु संगीत साधक स्व. गोपाल योञ्जन, सिनेमा लेखक, निर्देशक तथा गीतकार स्व. चेतन कार्की तथा लोकप्रिय हास्य जोडी राजपाल थापा र ध्रुव हाडाको नाममा पुरस्कार स्थापना गरी त्यसबाट कलाकर्मीलाई पुरस्कृत गरेकी छन् ।

समारोहमा संगीत साधक गोपाल योञ्जनको नाममा स्थापित गोपाल योञ्जन संगीत साधना पुरस्कारबाट संगीतकार शिला बहादुर मोक्तानलाई पुरस्कृत गरिएको हो । त्यसै गरी सिनेमा लेखक, निर्देशक तथा गीतकार स्व. चेतन कार्कीको नाममा स्थापित चेतन कार्की गीती वाङमय पुरस्कारबाट गीतकार श्रीपुरुष ढकाललाई पुरस्कृत गरिएको छ । त्यस्तै हास्य जोडी राजपाल थापा र ध्रुव हाडाको नाममा स्थापित हाडा एण्ड पाल हास्य वाङमय पुरस्कारबाट ख्यातिप्राप्त हास्यव्यङ्ग्य जोडी मह अर्थात् मदनकृष्ण श्रेष्ठलाई पुरस्कृत गरिएको हो भने स्वास्थ अवस्था ठिक नभएर उपस्थित हुन नसकेका कारण प्रतिनिधित्व गर्दै हरिवंश आचार्यको ठाउँमा उनका छोरा मोहितलाई पुरस्कार नगद राशिसहित प्रदान गरिएको थियो ।

सोही अवसरमा पूर्व प्रहरी कलाकारहरुको संगठन नेपाल पूर्व प्रहरी कलाकार संघको उद्घाटन पनि गरिएको थियो । संघमा क्षेत्रबहादुर गुरुङ संस्थापक संरक्षक, मिथिला शर्मा बोहरा वरिष्ठ सल्लाहकार र रामबहादुर थापा संस्थापक अध्यक्ष रहेका छन्।