Sur Cinema

‘वर एण्ड बधु’को गीत ‘तिमी सँग’ : विवेकसँग सबै अधिकार माग्दै आँचल

काठमाडौं : मिलन चाम्स निर्देशित सिनेमा ‘वर एण्ड बधु’को नयाँ गीत सार्वजनिक गरिएको छ। आइतबार काठमाडौंको आईएनआई सिनेमाजमा एक कार्यक्रमको आयोजना गर्दै निर्माण टिमले ‘तिमी सँग’ बोलको गीत सार्वजनिक गरेको हो।

गीतमा प्रताप दास र अन्जु पन्तको मेलोडियस स्वर रहेको छ। गीतका शब्दहरु लेखु सहयात्रीले लेखेका हुन् भने संगीत अर्जुन पोखरेलले भरेका छन्। गीत एकदम प्रेमिल छ।

यता भिडियोको कुरा गर्नुपर्दा सिनेमाका मुख्य कलाकार आँचल शर्मा र विवेक कर्माचार्य फिचर्ड छन्। आँचल र विवेकको रोमान्स अनि छल्किएको प्रेम भिडियोमा देख्न सकिन्छ।

“तिमी आँखा बन्यौ भने
म नानी बन्न पाऊँ !
सबको सामु तिमीलाई
जिन्दगानी भन्न पाऊँ !!”

यि माथिका शब्दहरूले तारिफ गर्दै आँचलले भिडियोमा विवेकसँग धेरै अधिकार मागेकी छिन्। विवेकलाई आफ्नो भन्ने अधिकार आफूलाई मात्र होस् भन्ने चाहेकी छिन् उनले। उसो त विवेक पनि सोही अधिकार चाहन्छन्। एउटा उत्कृष्ट प्रेम जोडीको रुपमा देखिएका छन् आँचल र विवेक।

भिडियो निकै आकर्षक छ। लोकेशनले हेर्ने दर्शकहरुको मन लोभ्याउँछ। भिडियोका दृश्यहरु खिच्नको लागि निर्माताले दिल खोलेर बजेट लगानी गरेका छन्। भिडियोलाई कविराज गहतराजले कोरियोग्राफी गरेका हुन्।

आगामी भदौ १४ गतेदेखि प्रदर्शनमा आउन लागेको सिनेमा एलआरके प्रोडक्शनको ब्यारनमा निर्माण भएको हो। सिनेमामा प्रदीप भारद्वाजको कथा रहेको छ।

सिनेमामा नायिका आँचल शर्मा र नव–नायक विवेक कर्माचार्यको मुख्य भूमिका रहेको छ। गरिमा शर्मा, विजु पार्की, हिमेश पन्त, श्रृष्टी खड्का, बिजय लामा, किरण केसी, कुसुम शर्मा, सरिता लामिछाने, रविन्द्र खड्का लगायतका कलाकारहरुको पनि सिनेमामा अभिनय रहेको छ।

जानुमा थापा सिनेमाको निर्माता हुन्। सिनेमाको कार्यकारी निर्माताको रुपमा
अमित रिजाल रहेका छन्। नेपाल र रोमानियाका विभिन्न स्थानमा छायांकन गरिएको सिनेमालाई सुदीप बरालले खिचेका हुन्।