Sur Cinema

‘बुलाकी’का लागि दुई गीत रेकर्ड

काठमाडौं । यहि साउन ३२ गतेबाट प्रदर्शनको तयारीमा रहेको सिनेमा ‘बुलाकी’को लागि दुई गीत रेकर्ड गरिएको छ । गत वर्ष एकदिन प्रदर्शन भएर हलबाट बाहिरिएको सिनेमालाई निर्माण टिमले पुन: प्रदर्शनमा ल्याउन लागेको हो ।

यो सिनेमाको एक मार्मिक गीतमा हालै नेपाल आइडल सिजन ५ विजेता करण परियार र गायिका अनु चौधरीले स्वर भरेका छन् भने अर्को एक गीतमा गायिका समिक्षा अधिकारीले स्वर दिइन् ।

करण परियारको लागि ‘बुलाकी’ पार्श्व गायनमा डेब्यू सिनेमा बनेको छ । आइतबार सिंहदरबारस्थित रेडियो नेपालको स्टुडियोमा भेटिएका करण केहि नर्भस र केहि उत्साहित देखिन्थे । गायिका समिक्षा र करण एकसाथ मिडियामा प्रस्तुत हुँदा नेपाली गीत संगीतको इतिहास बोकेको रेडियो नेपालको स्टुडियोमा गीत रेकर्ड गराउन पाउँदा पछिल्लो पुस्ताका उदयीमान कलाकारद्वय भाग्यमानी सुनिए । आफुहरूको स्वरवद्ध गीतले फिल्मको कमर्सियल पाटोलाई समेत सघाउने विश्वास करण र समिक्षाको छ ।

बाबुल गिरीको शब्द एवं संगीतमा तयार दुबै गीत एक हप्ताको अन्तरमा अर्को हप्ताबाट दर्शकमाझ आउने निर्माता तथा अभिनेता विराज विष्टले बताए । कर्णाली भेगको जारी प्रथाको कथावस्तुलाई सिनेमाले प्रस्तुत गरेको छ। 

देश विदेशका विभिन्न चलचित्र महोत्सव, अवार्ड कार्यक्रममा तो फिल्मले कथा, पटकथा, निर्देशन, छायांकन, अभिनय लगायतका विभिन्न विधामा उत्कृष्टको अवार्ड जितिरहेको छ ।देश विदेशमा रहनुभएका नेपाली फिल्मका शुभचिन्तकहरूले दिनु भएको प्रेम र स्नेहलाई ग्रहण गर्दै यो बीचमा फिल्मप्रति दर्शकले देखाउनु भएको चासोलाई मध्यनजर गरेर चलचित्र ‘बुलाकी’लाई पुन: प्रदर्शनमा ल्याउने निर्णयमा पुगेको विष्टले बताए ।

सिनेमालाई पुनः सम्पादनसहित यो बीचमा देखिएका कमी कमजोरीलाई थप सुधार गर्दै थप उत्कृष्ट बनाएर दर्शकमाझ ल्याउन लागेको समेत विष्ट बताउँछन् ।

स्व. मोती विष्टको प्रस्तुति तथा टोपेन्द्र विष्टको निर्माणमा बनेको ‘बुलाकी’लाई लक्ष्मण सुनारले निर्देशन गरेका हुन् । यो सिनेमामा शिव ढकालको छायांकन र अर्जुन जिसीसँगै निर्देशन सुनारको सम्पादन छ । सिनेमाको कथा तथा पटकथा राजबहादुर सानेको हो ।

यो सिनेमामा सुरक्षा पन्त, नरेन खड्का, विराज विष्ट, सरस्वती खत्री, लक्ष्मी गिरी, सुशील पोखरेल, रमेश बुढाथोकी, कुलद्विप अधिकारी, झलनाथ खत्री, उपसना नेम्वाङ, लक्ष्मण देवकोटा, विनयराज पौडेल, सोनु सेढाई लगायत अभिनयमा छन् । सिनेमालाई उपत्यकामा रीच इन्टरटेन्मेन्ट प्राली र मोफसलमा एफडी कम्पनीले वितरण जिम्मा लिएको छ ।