Sur Cinema

Edit Content
Edit Content

ताजा अपडेट

वर्षाले अमरलाई भनिन्,-‘हाम्रो इन्डस्ट्रीमा वेलकम’

काठमाडौं : पछिल्लो समय अभिनेत्री वर्षा शिवाकोटी सिनेमा ‘छक्का पन्जा ५’को छायांकनमै व्यस्त छिन्। व्यस्तताको बाबजुद पनि वर्षा सोमबार राजधानीको एक कार्यक्रममा उपस्थित भइन्। उसो त उक्त कार्यक्रम स्वयं उनकै थियो। सो कार्यक्रम उनले अभिनय गरेको सिनेमा ‘मोदीबेनी’को गीत रिलिज कार्यक्रममा थियो।

‘मोदीबेनी’ टिमले काठमाडौंको क्युएफएक्स सिभिलमा एक कार्यक्रमको आयोजना गर्दै सोमबार ‘मन्जुरी’ बोलको गीत सार्वजनिक गरेको हो। निकै सुन्दरी बनेर वर्षा उपस्थित भएकी थिइन्। वर्षासँगै एकसाथ नव अभिनेता अमर प्रताप श्रेष्ठ पनि सुटमा सजिएर हलभित्र प्रवेश गरेका थिए।

औपचारिकता निभाउँदै गीत रिलिज गरिसकेपछि वर्षा र अमरले मिडियाकर्मीसँग कुराकानी समेत गरे। कुराकानीको क्रममा वर्षाले ‘मोदीबेनी’ टिमको खुब तारिफ गरिन्। अमरको कामको पनि तारिफ गर्दै उनले सिनेमा इन्डस्ट्रीमा स्वागत समेत गरिन्।

कार्यक्रममा बोल्दै उनले भनिन्,-‘मन्जुरी गीतमा एकदमै धेरै पटक मन्जुरी माग्या माग्यै गर्ने र इन्डस्ट्रीमा आफ्नो एक्टिङ करिअर सुरु गर्ने साथै सिनेमामा मेरो जोडीको रुपमा देखिनुहुने अमर प्रताप श्रेष्ठलाई पनि हाम्रो इन्डस्ट्रीमा वेलकम भन्न चाहन्छु।’ वर्षाको स्वागतमा अमरले पनि खुशी हुँदै ताली बजाएका थिए।

अमरले यसै सिनेमा मार्फत अभिनयमा डेव्यू गर्दैछन्। पहिलो काम भएपनि अमरले गीतको भिडियोमा राम्रो काम गरेका छन्। अब सिनेमामा कस्तो काम गरेका छन् त्यो त प्रदर्शनपछि नै थाहा होला।

शंकर कोइरालाको निर्देशनमा तयार भएको ‘मोदीबेनी’ आगामी श्रावण १८ गतेदेखि विश्वभर प्रदर्शन हुँदैछ। फिल्म डिनेस्ट इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको हो। सिनेमामा आनन्द बिक्रम क्षेत्रीको लेखन रहेको छ। सिनेमामा वर्षा र अमरका अलावा सरोज खनाल, रेजिना उप्रेती, प्रवीण खतिवडा, कमलमणि नेपाल, जीवन भट्टराई, दिलिप केसी लगायतका कलाकारहरुको पनि अभिनय रहेको छ।

दिलिप केसी सिनेमाका निर्माता हुन् भने सह-निर्माताको रुपमा हरि श्रेष्ठ रहेका छन्। सिनेमाको पोस्टर र पब्लिसिटी डिजाइन ट्राइडेन्ट कन्सेप्टका रोयल भिमसेनले गरेका हुन्। यस् अघि रिलिज भएका सिनेमाका पोस्टरहरुले राम्रै चर्चा पाएका थिए। उसो त आज रिलिज भएको गीतले पनि सिनेमाको प्रचारप्रसारमा ठूलो टेवा पुर्‍याउने अनुमान गरिएको छ।