काठमाडौं : राजु गिरीको निर्देशनमा तयार भएको सिनेमा ‘ईश्वर’को नयाँ पोस्टर सार्वजनिक भएको छ । सार्वजनिक पोस्टरमा सिनेमाका कलाकारद्वय पृथ्वीराज प्रसाईं र अनु शाह फिचर्ड छन् । ताललाई पृष्ठभूमिमा राखेर बनाइएको पोस्टरमा पृथ्वी र अनुलाई रोमान्टिक भावमा देख्न सकिन्छ । पोस्टरमा पृथ्वी अनुसँग रोमान्स गर्न एक साइकलमा चढेर आएको देख्न सकिन्छ ।
दिव्या कंगना फिल्मस्को ब्यानरमा तथा हरिबहादुर थापाको निर्माण रहेको सिनेमामा भोजराज देवकोटाको पटकथा तथा संवाद छ । निर्देशक राजुका अनुसार केही दिनअघि पोखरामा सिनेमाको प्रिमियर गरिएको थियो । ‘सिनेमा हेरेका अधिकांश दर्शकका आँखा रसाएका थिए। उनीहरु सिनेमाका हरेक दृश्यमा भावुक बनेका देखिन्थेँ’, निर्देशक गिरीले भने ।
लक्ष्मी कुँवर थापाको प्रस्तुतिमा निर्माण भएको सिनेमामा ध्रुव थापा, पृथ्वीराज प्रसाईं, अनु शाह, सुनिल थापा, सविन बास्तोला, माओत्से गुरुङ, शिशिर बाङ्देल, ध्रुव थापा, रविन्द्र झा, बुद्धि तामाङ, कृष्टि गुरुङ, गीता अधिकारीलगायतको अभिनय छ । सिनेमामा अर्जुन पोखरेल, राजेन्द्र बजगाई र बीपी वाग्लेको संगीत, गीतकार भिष्मराज फुलारा र जगदीश आचार्य, कविराज गहतराज, देवेन्द्र पाण्डे र सुरेश पाण्डेको कोरियोग्राफी रहेको छ। सिनेमामा रामेश्वर हुँमागाईको छायांकन र देव महर्जनको द्वन्द्व निर्देशन रहेको छ । सिनेमाको वितरणको आरआर फिल्मसले गर्दैछ । सिनेमा साउन ११ मा रिलिज हुँदैछ ।















