काठमाडौं : वर्ष २०८१ को लागि सर्वाधिक प्रतीक्षामा रहेको सिनेमा ‘पुजार सार्की’को दोस्रो गीत ‘रिमै’ सार्वजनिक गरिएको छ। मङ्गलवार युट्युबमार्फत सार्वजनिक गरिएको यस गीतका दृश्यहरूले सिनेमाको थिम प्रस्तुत गरेका छन् ।
यो गीतमा पुजारको चरित्र निभाएका अभिनेता आर्यन सिग्देल र अभिनेत्री अञ्जना बराइली त्यसै गरी मैतबहादुरको चरित्रमा रहेका अभिनेता प्रदीप खड्का र अभिनेत्री परीक्षा लिम्बुको अन्तरजातीय प्रेम, दोधारमा परेका अभिनेता पल शाहलाई देखाइएको छ। गीतमा दिनेश राउतका शब्द र सुवास भुसालको सङ्गीत रहेको छ भने देवेन्द्र बराल र मुना ठटालको स्वर रहेको छ।
यस सिनेमामा अन्य कलाकारहरु मोहन निरौला, लोकेन्द्र लेखक, सुवास गजुरेल, विद्या कार्की, तारा शर्मा, शङ्कर आचार्य, प्रेम सुब्बा, गोविन्द रमण पराजुली, राजेश बिसुराल लगायतको पनि अभिनय रहेको छ।
दिनेश राउतको निर्देशन रहेको सिनेमालाई सुवास भुसालले निर्माण गरेका हुन् । किङ्गडम नेटवर्कको ब्यानरमा बनेको यो सिनेमा नेपालमा आरआर फिल्मसले वितरण गर्दै छ भने अन्तर्राष्ट्रिय बजारमा एमएसएम इन्टरटेन्मेन्टले वितरण गर्दैछ । निर्माता भुसालले नै यस सिनेमाको लागि सङ्गीत तयार गरेका छन् । हर्क साउद, बि. पाण्डे, दिनेश राउत र गणेश शाहीले यसका गीत रचना गरेका छन् भने प्रकाश सपूत, शान्ति श्री परियार, केतन क्षेत्री, देबेन्द बराल र मुना थटालले स्वर दिएका छन् ।
राजेश श्रेष्ठको डिओपी रहेको ‘पुजार सार्की’लाई भरत रेग्मीले सम्पादन तथा सुप्रिम पराजुलीले कलर ग्रेडिङ तथा हिमाल केसीले द्वन्द्व निर्देशन गरेका छन्। चलचित्रको पोस्टर डिजाइन रोयल भिमसेन र ट्राइडेन्ट कन्सेप्टले गरेका हुन्। सिनेमा आगामी जेठ १० गते देखि विश्वव्यापी रूपमा एकसाथ रिलिज हुँदै छ ।















