Sur Cinema

सन्तोषको ‘बलिदान’मा दिव्य देव अनुबन्धित

काठमाडौं : आसुसेन फिल्मस्‌को निर्माणाधीन सिनेमा ‘बलिदान’मा अभिनेता दिव्य देव अनुबन्धित भएका छन्। शनिवार औपचारिक सम्झौता गर्दै उनलाई यस सिनेमामा भित्राइएको हो।

सिनेमाका प्रमुख भूमिकाहरू मध्ये एकमा दिव्यको अभिनय रहने निर्देशक सन्तोष सेनले बताए । “अभिनयमा पारङ्गत दिव्यजीलाई हामीले पहिले देखि नै नजरमा राखेका थियौँ तर औपचारिक रूपमा भने सिनेमाको विषयमा कुराकानी गर्न पाएका थिएनौँ । ‘बलिदान’को एक प्रमुख पात्रको लागि उहाँ एकदमै सुहाउँदो कलाकार हुनुहुन्छ” निर्देशक सेनले भने, “यस सिनेमामा हामीले सबै उत्कृष्ट कलाकारहरूलाई अभिनय गराउँदै छौँ । सिनेमामा नयाँ भित्रिनुभएका कलाकारहरू पनि पहिले नै पोख्त भइसक्नुभएको छ।”

नाट्य कर्म र सिनेमा अभिनयलाई सँग सँगै हिँडाइरहेका दिव्यले प्रमुख भूमिका निभाएको सिनेमा ‘चिसो एस्ट्रे’बाट धेरै सिनेकर्मीको नजरमा परेका थिए । दिव्यले ‘बलिदान’को टिमसँग जोडिन पाउँदा खुसी रहेको बताए । गत वर्ष नै रिलिज भएको यसको टिजरमा आवाज दिएका उनले निर्देशक सेनले त्यही बेला नै सँगै काम गर्ने प्रस्ताव गरेको बताए । उनले भने, “टिजरको समयमा नै उहाँले काम गर्नु पर्छ है भन्नु भएको थियो । मैले पर्खिरहेको थिएँ। केही दिन अघि उहाँले बोलाउनुभयो र एउटा महत्त्वपूर्ण भूमिकामा काम गर्ने सहमति भयो । भव्यताका साथ सिनेमा बनाउने आँट भएको मेकरसँग काममा जोडिन पाउँदा खुसी लागेको छ ।”

‘बलिदान’को प्रमुख भूमिकाबाट समीर भट्टले डेब्यु गर्दैछन् । यस सिनेमामा यसअघि अभिनेता द्वय सौगात मल्ल र अर्पण थापा तथा अभिनेत्री ऋचा शर्मा अनुबन्ध भइसकेका छन् । सबै स्टार कलाकारहरूको अभिनय रहने यस सिनेमालाई लिएर ठुलो अपेक्षा गरिएको छ।

यसै वर्ष रिलिज हुने ‘बलिदान’को हाल पूर्वी नेपालको इटहरीमा सेट डिजाइनको काम भइरहेको छ। यसको छायाङ्कन करिब ६० प्रतिशत स्टुडियोमा नै छायाङ्कन हुँदैछ। यस सिनेमाका निर्देशक सेनले सिनेमाको कथामा आउने देश काल र परिस्थितिलाई दुरुस्त झल्काउने लोकेसन खोज्नुपर्ने चुनौतीका बिच सेट डिजाइन भइरहेको बताए।

आसुसेन फिल्मस् प्रा.ली. तथा सन्तोष सेनको प्रस्तुति रहने यस सिनेमामा निर्माताको रूपमा पवन ब्राडफोर्ड बिस्ट तथा सह निर्माता प्रेम पुरी रहेका छन् ।