Sur Cinema

तेस्रो नेपाल ग्रामीण चलचित्र महोत्सव बैशाख ६ गते देखि ८ गते सम्म

काठमाडौं : सेलिब्रेटी नेपालको आयोजनामा हुने तेस्रो नेपाल ग्रामीण चलचित्र महोत्सव (NERUFF) बैशाख ६ गते देखि ८ गते सम्म रामेछाप नगरपालिकामा हुने भएको छ । रामेछाप जिल्लाको सदरमुकाम मन्थलीमा पत्रकार सम्मेलन गर्दै महोत्सवको मिति सार्वजनिक गरिएको हो ।

प्रत्येक वर्ष फरक फरक जिल्लाको ग्रामीण भेगमा आयोजना गर्ने महोत्सवमा ग्रामीण परिवेशमा बनेका नेपाली फिचर सिनेमा,शर्ट सिनेमा, डकुमेन्ट्री र कल्चर सिनेमाहरु प्रदर्शन गरिनेछ । साथै नेपाली सिनेमा, पर्यटन र ग्रामीण कथालाई समेटेर विभिन्न संवाद कार्यक्रमहरु पनि गरिने महोत्सवका अध्यक्ष रघुनाथ सापकोटाले बताए । निर्देशक कमल एक्चै मगर कार्यक्रमको संयोजक रहेका छन् । मगरले आफ्नै गृह जिल्ला यस्तो महोत्सव गर्न पाँउदा खुसी लागेको बताए । 

महोत्सवमा करिव २ दर्जन सिनेमा देखाउने र सिनेमाका सम्बन्धित ब्यक्तिहरु संग गाउँले दर्शकहरुले अन्तरक्रिया पनि गर्नेछन् । रामेछाप जिल्ला सिनेमा घर छैन् । सिनेमा हेर्न रुचि राख्ने दर्शकहरुलाई यो महोत्सवले पुर्ण मनोरञ्जनका साथै नेपाली सिने क्षेत्रको प्रचार प्रसार हुने आयोजकले अपेक्षा राखेको छ । महोत्सवमा करिब ३ हजार दर्शकको सहभागीता  गराउने लक्ष्य आयोजकले लिएको छ ।