काठमाडौं : कलाकारले प्राय आफुले गरेको काममा कमि नै देख्छन् । सुधार्न सकिने ठाउँ धेरै भएको देख्ने कलाकार मध्यका एक हुन् सौगात मल्ल । उनी हरेक पटक सिनेमा हेर्दा आफुलाई सुधार्न सक्ने पक्ष बारे धेरै नजर लगाउछन् । तर यो मामलामा बिपिन कार्की भिन्न देखिएका छन् ।
उनी अभिनित ‘महाजात्रा’ सिनेमा अहिले हलमा लागिरहेको छ । उनको भुमिका फडिन्द्र तिमल्सिनालाई दर्शकले पहिला दुई वटा सिनेमामा झै मन पराएका छन् । ‘महाजात्रा’ मै केही खास भने देखिएको छैन उनको रोलमा, बस पुरानो कै निरन्तरता । उनै बिपिन आफ्ना फ्लप सिनेमा बारे भने अल्लि फरक मत राख्दा रहेछन् ।
उनको सिनेमा ‘एक भगवत् एक गीता’मा खास रोलको अपेक्षा धेरैलाई थियो । तर, दु:खद न त सिनेमा चल्यो न उनको भिन्न भुमिकाले वाहवाही पायो । यस्तो किन भयो त ? भन्दै गर्दा बिपिनको जवाफ आफ्नो भुमिका भन्दा पनि सिनेमामा सबैलाई अटाउन खोज्दा यस्तो भएको आयो । सबैलाई अटाउन खोज्दा सिनेमाको कथा नै भिन्न हुन पुगेको उनको तर्क थियो । उनले अझ स्पस्ट रुपमा सम्पादनमा भएको कमजोरीले सिनेमा सोचेजस्तो सिनेमा बन्न नसकेको भनिदिए ।
उनी ‘पशुपति प्रसाद दुई भस्मे डन’मा पनि खासै सन्तुष्ट हुन नसकेको बताउछन् । उनले दर्शक भएर हेर्दा सिनेमा आफैलाई चित्त नबुझेको बताए । तर उनी आफ्नो भुमिका बारे फिटिक्कै बोल्न चाहेनन् । सम्भवत उनलाई आफ्नो काम ‘बबाल’ भएको तर अरुले बिगारेको भन्ने लागेको हुन पर्छ ।
बिपिनका सिनेमा हिट हुन या फ्लप, कुनै न कुनै समय उनका डाईलग चर्चा मै आएका हुन्छन् । यस पटक राम्रो व्यापार ‘महाजात्रा’ले गरिरहेको अवस्थामा पनि यस्ता केही डाईलगहरु सम्झन लायक छ है भन्ने दर्शकले भनिरहेका छन् ।















