काठमाडौं : ५० प्रतिशत छायांकन रोमानियामा भएपछि रोकिएको सिनेमा ‘वर एण्ड बधु’को काम अगाडि बढ्ने भएको छ । यो सिनेमाको बाँकी ५० प्रतिशत छायांकन नेपालमा गर्ने तयारी गरिएको छ । सिनेमाका निर्देशक मिलन चाम्सका अनुसार, चैत्रको तेस्रो साताबाट सिनेमाको छायांकन नेपालमा सुरु हुनेछ ।
रोमान्टिक कमेडी कथामा तयार भइरहेको यो सिनेमामा बधुको भूमिकामा नायिका आँचल शर्माले काम गरिरहेकी छिन् । सिनेमामा वरको भूमिकामा भने नव–नायक विवेक कर्माचार्यले अभिनय गरिरहेका छन् ।
सिनेमाको दोस्रो सेड्यूलका लागि नायक विवेक कर्माचार्यले आफ्नो शरीर समेत बनाएका छन् । निर्माणपक्षले उपलब्ध गराएको विवेकको नयाँ तस्वीरमा उनको शरीर सुगठित देखिन्छ । कथाको माग अनुसार नै विवेकले शरीर बनाएको निर्देशक चाम्सले बताए । यो सिनेमामा सुदिप बरालको छायांकन छ ।
डाक्टर अमित रिजाल कार्यकारी निर्माता रहेको यो सिनेमालाई एलआरके इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण गरिएको हो । यो सिनेमाले विवाहको संकृतिलाई पर्दामा देखाउने निर्माणपक्षले बताएको छ । सिनेमाको प्रदर्शन मिति तय गरिएको छैन् । छायांकन सकिएपछि रिलिज मिति पनि तय गर्ने निर्माण टिमले बताएको छ ।















