Sur Cinema

Edit Content
Edit Content

ताजा अपडेट

तीन पात्रको कथामा आधारित ‘महाजात्रा’को गीत ‘मुरी मुरी साथी’

काठमाडौँ : ‘जात्रा’ र ‘जात्रै जात्रा’ पछि षट्कोण आर्ट्सले निर्माण गरेको तेस्रो भाग ‘महाजात्रा’ मा समावेश दोस्रो गीत ‘मुरी मुरी साथी’ सार्वजनिक गरिएको छ । चैत ९ गतेदेखि प्रदर्शनरत सिनेमाको सार्वजनिक गीतमा फडिन्द्र (विपिन कार्की), जोयश (रवीन्द्रसिंह बानियाँ) र मुन्ना (रवीन्द्र झा) बीचको मित्रतालाई देखाईएको छ । सिनेमामा उनीहरू बीच शृंखलावद्ध रुपमा आउने उतारचढावसँगै झाँगिएको मित्रतालाई प्रस्तुत गरिएको निर्देशक तथा लेखक प्रदीप भट्टराईले बताए ।

‘गीतमा तीन पात्रले जीविकोपार्जनका लागि गर्ने संघर्ष, विभिन्न अवरोधमा टिकेको मित्रता र उनीहरूको गरिवीले डगमगाउन नसकेको नैतिकतालाई प्रस्तुत गरेका छौँ’, निर्देशक भट्टराईले भने । गीतमा शब्द हर्क साउद, संगीत तथा स्वर कालीप्रसाद बाँस्कोटाको रहेको छ । यसलाई पुरुषोत्तम प्रधानले छायांकन गरेका हुन् ।

गत चैत ९ गतेदेखि प्रदर्शनरत ‘महाजात्रा’ प्रति राजनीतिज्ञ चासो बढेको छ । मनोरञ्जनसँगै राष्ट्रिय विषयलाई समेटिएको सिनेमालाई नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली, उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछाने, पूर्वरानी कोमल राज्यलक्ष्मी शाह लगायतका विशिष्ट व्यक्तिले हेरिसकेका छन् । सिनेमाले पहिलो तीन दिनमा चार करोड २६ लाखको ग्रस कलेक्सन गरिसकेको छ । सिनेमाको विषयवस्तु तीन पात्रकै वरिपरि घुमेको छ ।

आपतकालीन रुपमा पैसा व्यवस्थापन गर्न आइपर्ने अवसर र त्यसको क्रममा तीन पात्रले गर्ने संघर्ष देखाईएको सिनेमामा वर्षा राउत, दिव्य देव, अर्जुनजंग शाही, प्रकाश घिमिरे, राजाराम पौडेल, प्रवीण खतिवडा, सुमन कार्की, शिशिर बाङ्देल, गौमाया गुरुङ, अर्बिन खड्का काईरा कार्की लगायतको अभिनय रहेको छ । सिनेमालाई म्याक्स दीपेश खत्री र यज्ञश्वर पौडेलले संयुक्त रुपमा निर्माण गरेका हुन् । साथै, सिनेमा निर्माण कम्पनि षट्कोण आर्ट्सले गीतको अन्तिममा २०८२ को दसैँमा नयाँ सिनेमा ल्याउने सङ्केत गरेको छ ।