Sur Cinema

Edit Content
Edit Content

ताजा अपडेट

केकीको डरलाग्दो लुक्स

काठमाडौं : आउँदो वैशाख १४ गतेबाट प्रर्दशन आउन लागेको सिनेमा ‘बोक्सीको घर’को पोस्टर ‘बोक्सी लुक्स’ सार्वजनिक गरिएको छ । आइतबार राजधानीको एक होटलमा आयोजित होली कार्यक्रमकोबीच सिनेमाको पात्र रहेकी अभिनेत्री केकी अधिकारीको ‘बोक्सी लुक्स’ सार्वजनिक गरेका हुन् ।

उक्त लुक्सलाई सिनेमाको प्रस्तुतकर्ता तथा अभिनेत्री केकी अधिकारी र पूर्वमिस नेपाल तथा अभिनेत्री माल्भिका सुब्बाले सार्वजनिक गरे । ‘बोक्सी लुक्स’ मा केकीलाई फरक गेटअपमा प्रस्तुत गरिएको छ ।
प्रस्तुतकर्ता तथा अभिनेत्री केकीले यसअघि सार्वजनिक टिजर र गीतमा नदेखाइएको ‘बोक्सी लुक्स’लाई फागु पूर्णिमाको अवसर पारेर सार्वजनिक गरिएको बताइन् ।

‘टिजर र गीतमा सस्पेन्सका रुपमा राखिएको बोक्सी लुक्सलाई प्रचार प्रसारको प्रमुख माध्यम बनाउन सार्वजनिक गरेका हौं’, उनले भनिन् । सिनेमाको टिजर र सार्वजनिक गीत ‘जिन्दगीको कथा, यता न उता’ले राम्रै चर्चा पाइरहेको छ । कार्यक्रममा उनले आफूले समेत पहिलो पटक सो पोस्टर हेर्न पाएको प्रतिक्रिया दिएकी थिइन् ।

लेखक तथा निर्देशक सुलक्षण भारतीले जल्दोबल्दो सामाजिक विषयवस्तुमा सिनेमा बनाइएकाले नेपाली दर्शकले फरक स्वाद पाउने दाबी गरे । सिनेमा आठ वर्षअघि मञ्चन भएको नाटक ‘बोक्सीको घर’माथि रहेर बद्री अधिकारीले सिनेमा निर्माण गरेका हुन् । बद्री अभिनेत्री केकीका पिता हुन् ।

केकी अधिकारी फिल्म्सको प्रस्तुतीमा निर्माण भएको सिनेमामा सुलक्षण भारतीको लेखन तथा निर्देशन छ । अभिनेत्री तथा निर्मात्री केकीले सामाजिक थ्रिलर जनरामा निर्माण भएको सिनेमाले समाजमा प्रचलित कुप्रथालाई चित्रण गर्ने बताइन् । महिलालाई बोक्सीको आरोप लगाई समाजले उनीहरूमाथि गर्ने शोषणको वरिपरि रहेर सिनेमा निर्माण गरिएको उनको भनाई छ । सिनेमा नेपालसहित विभिन्न देशमा एकसाथ प्रदर्शन गर्नुका साथै अन्तर्राष्ट्रिय महोत्सवमा समेत लैजाने योजनामा केकी छिन् ।

सिनेमाका कार्यकारी निर्माता राज घिमिरे हुन् । सिनेमामा केकीका अलवा सुपला सापकोटा, श्वेच्छा राउत, सुलक्षण भारती, रमा थपलिया, सुष्मा निरौला, सबिन बास्तोलालगायतको अभिनय छ । लोचन रिजालको ब्याकग्राउण्ड म्युजिक रहेको सिनेमामा शिवराम श्रेष्ठको छायांकन र लोकेश बज्राचार्यको सम्पादन छ । टिफल्क फिल्मसले सिनेमाको वितरण अधिकार लिएको छ ।