Sur Cinema

सिनेमामा ढाड देखाउने निर्माता म्याक्स !

काठमाडौं : सुन्दर मुहार आकर्षक जिउडालका म्याक्स दिपेश खत्रीलाई उनको लुक्स कै कारण मोडलिङको अफर आईरहन्थ्यो । उनी हासेरै टारिदिन्थे । उनलाई आफू र अभिनय बिल्कुल फरक कुरा लाग्थ्यो । यही क्रममा उनलाई सिनेमा कै अफर आयो । यात्रामा रहेर तयार कथामा पाँच जना युवा हुने र त्यसको एक युवाको भुमिकामा म्याक्स रहने कुरा थियो ।

डाक्टर बाबुका छोरा जसलाई डाक्टरी पेशा प्रति कुनै रहर नै छैन्, उसलाई आफ्ना बाबुले डाक्टरको सर्टिफिकेट हातमा राखिदिएर आफुलाई मन लागेको काम गर्न आग्रह गरेका थिए । यही चरित्रका लागि म्याक्सलाई रविन्द्र सिंह बानिया र प्रदीप भट्टराईले अफर गरेका थिए । रबिन्द्रको कुरा काट्नै नसक्ने म्याक्सले नाई भन्न सकेनन ।

उक्त स्कृप्ट जुन प्रदीपले तयार गरेका थिए, स्कृप्ट बोकेर प्रदीप स्कृप्टको खास ज्ञान भएका मनोज पण्डित कहाँ पुगे । धेरैले मन पराएको स्कृप्ट मनोजले वाहियात भनिदिए । प्रदीपले धेरै पटक स्कृप्ट सुधार्ने प्रयास पनि गरेकै हुन् । तर, पार लागेन ।

सिनेमाका लागि रविन्द्र स्वयम् सङै म्याक्स, स्व. सारुक ताम्राकार, बिपिन खड्का लगायतलाई निर्माण टिमले तयार गरिरहेको थियो । तर सिनेमा नै नबन्ने भयो । बरु प्रदीपले यसै सुनाएको जात्राको वानलाईन स्टोरी मनोजलाई मन पर्यो । र, यही सिनेमाका कारण प्रदीप स्थापित निर्देशक बने र म्याक्स पनि नायक होइन निर्माता बने ।

‘जात्रा’को छायांकनमा म्याक्स पुगिरहन्थे । रविन्द्र र प्रदीप खास साथी बनिसकेका थिए उनका । यही क्रममा असनको एक गल्लीमा जात्रा छायांकन हुँदै थियो । म्याक्स साईकल लिएर छायांकन स्थल पुगे । रविन्द्रले उनी र उनको साईकललाई प्रम्पको रुपमा प्रयोग गरे । नायक बन्ने भनेर ल्याईएका म्याक्सको डेब्यु सिनेमा ‘जात्रा’ बन्यो, जहाँ उनको ढाड मात्रै दर्शकले देख्न पाए । र, त्यसपछि उनको अभिनय यात्रा यहीँ ढाड देखाउने क्रम मै अघि बढिरहेको छ । अभिनयको नाममा पासिङ सिनमा रमाएका म्याक्स निर्मातामा भने सफल बने । धेरै सिनेमाको सफलतापछि अब उनको नया सिनेमा हलमा लाग्दैछ ‘महाजात्रा’ ।

‘महाजात्रा’ सिनेमा प्रदर्शन संघारमा छ । यही चैत ९ बाट हलमा लाग्ने सिनेमाका निर्माता म्याक्स दिपेश यो सिनेमालाई लिएर पनि उत्साहित छन् । प्रदीपको लेखन तथा निर्देशन रहेको सिनेमामा रविन्द्र सङै हरिवंश आचार्य, बिपिन कार्की, रविन्द्र झा, वर्षा राउत लगायतको मुख्य भुमिका रहेको छ ।