Sur Cinema

Edit Content
Edit Content

ताजा अपडेट

नवलले “काडेतार” हलबाट उतार्ने

काठमाडौं : नायक, निर्देशक र निर्माता समेत रहेका नवल खड्काले आफ्नो सिनेमा हलबाट उतार्ने बताएका छन् । हिजो शुक्रबारबाट सार्वजनिक प्रदर्शनमा आएको सिनेमा “काडेतार” ले उचित शो नपाएको भन्दै हलबाट उतार्नका लागि उनले प्रेसमिट समेत गर्ने तयारी थालेका छन् ।
राष्ट्रवादी धारमा निर्माण गरिएको ‘काँडेतार’ लाई सिनेकर्मी र पत्रकारले राम्रै प्रतिक्रिया दिएका थिए । हलमा समेत दर्शकको राम्रै प्रतिक्रिया पाईरहेको सिनेमालाई निर्माताले अचानक उतार्न लागेका हुन् । सिनेमा हेरेका दर्शकले भने सिनेमालाई सकारात्मक प्रतिक्रिया दिएका छन् । सिनेमाको एक्सन र अभिनयलाई दर्शकले खास मन पराएका हुन् ।

यस अघि समेत राधा, बुलाकी लगायत केही सिनेमाले हलमा राम्रो शो नपाएको भन्दै हलबाट निर्माताले उतारेका थिए । पुन लगाउने भन्दै उतारे पनि ती सिनेमाहरु यसै हराएर गए । अब यही लिस्टमा नवलले आफ्नो सिनेमा थप्न लागेका छन् ।

सिनेमाकोकथाबस्तु देखि लिएर सेन्सरको समयमा समेत सिनेमा विवादित बनेको थियो । राष्ट्रवादी अभियान भन्दै नवलले हस्ताक्षर पनि सन्कलन गरे । तर अब दर्शकले सिनेमा नै हेर्न नपाउने भएका छन् ।

नवल खड्काको निर्देशनमा तयार भएको सिनेमाले नेपाल र भारतको सम्बन्धको कथा भन्छ । साथै, नेपालको सीमा स्तम्भमाथि भारतले बारम्बार गर्ने खेलबाडको कथालाई यो सिनेमाले प्रस्तुत गरेको छ । सिनेमामा नवल खड्का, गौरव पहारी, रेविका गुरुङ, सुरविना कार्की, मुरलीधर, प्रेम सुब्बा, परशुराम चौधरी, सञ्जय खतिवडा, राजेन्द्र भगत, पन्नालाल सिकदार, प्रकाश गिरीका साथै बाल कलाकार नादिया खड्का र सनया खड्काले अभिनय गरेका छन् ।

सामना फिल्म्स प्रालिको ब्यानरमा बनेको सिनेमाको लेखन शिवम् अधिकारी र नवलले गरेका हुन् । मणि थापा र दीपक शर्माको संगीत रहेको ‘काँडेतार’को छायांकन सौरभ लामाले गरेका हुन् । सिनेमामा श्री श्रेष्ठको द्वन्द्व र कविराज गहतराजको कोरियोग्राफी रहेको छ । सिनेमालाई बन्देप्रसाद र तारा थापा ’किम्भे’ ले सम्पादन गरेका छन् । नवल खड्का, माकिको राई र अञ्जु केसीको निर्माण रहेको सिनेमाकी कार्यकारी निर्माता सत्यकला राई हुन् ।