Sur Cinema

‘अञ्जिला’को फस्ट लुक पोस्टर

काठमाडौं : महिला राष्ट्रिय फुटबल टिमकी नम्बर एक गोलरक्षक अञ्जिला तुम्बापो सुब्बाको जीवनबाट प्रभावित रहेको सिनेमा ‘अञ्जिला’को फस्ट लुक पोस्टर सार्वजनिक भएको छ । सिनेमाका निर्देशक मिलन चाम्सले पोस्टर सार्वजनिक गर्दै छिट्टै नै उपयुक्त रिलिज मिति तय गर्ने बताए ।

पोस्टरमा अञ्जिला र अभिनेता दयाहाङ राईलाई स्थान दिइएको छ । पोस्टरबाट अञ्जिलाको ग्रामीण जीवनको सङ्घर्षदेखि खेल जीवनसम्मको कथा यो सिनेमामा रहेको अनुमान गर्न सकिन्छ । अभिनेता राईको भूमिकाबारे भने पोस्टरले केही बोलेको छैन् ।

अञ्जिलाकै जन्मथलो इलामको आइतबारे सहित झापा र काठमाडौँमा यस सिनेमाको छायांकन भएको छ । यो सिनेमामा अञ्जिला स्वयंको मुख्य भूमिका रहेको छ । उनीसँगै यसमा दयाहाङ राई, मिरुना मगर, सिर्जना सुब्बा, माओत्से गुरुङ, बुद्धि तामाङ, विजय बराल, हरि खड्का, मञ्जु श्रेष्ठ, वेदना राई,  सिद्धार्थ  सिंह, सुरज तमु, सुमिन गुरुङ, विष्णु मोक्तान लगायतको पनि अभिनय रहनेछ । यस सिनेमाका निर्माता प्रेम कुमार श्रेष्ठको पनि यस सिनेमामा प्रमुख भूमिका रहेको छ । श्रेष्ठले वास्तविक जीवनकै भूमिका निभाएका छन् ।

अञ्जिलाको बालापनदेखि खेल जीवनसम्मको कथामा उनले फुटबलर बन्नका लागि गरेको सङ्घर्ष र सफलताको कथालाई सिनेमामा जोड दिएको निर्देशक चाम्सले जानकारी दिए । सफल खेलाडी बन्नु अगाडि अञ्जिलाले धेरै दुःखहरू भोगेको र इच्छाशक्ति भएदेखिन् असम्भव भन्ने कुरा नहुने सन्देश सिनेमाले दिने चाम्सले बताए । निर्देशक चाम्सले यो सिनेमा ठ्याक्कै अञ्जिलाको बायोपिक भने नभएको बताए । उनले ७५ प्रतिशत अञ्जिलाकै जीवनी हुने तर बायोपिक भने नहुने बताए ।

निर्माता श्रेष्ठले अञ्जिलाको कष्टकर बाल्य जीवनदेखि सफलतासम्मको कथा सिनेमामा देखिने बताए । १४ वर्षदेखि अञ्जिलाको अभिभावकत्व ग्रहण गर्दै आएका उनले शिक्षा-दिक्षादेखि खेलाडी बनाउने सहमतिमा हस्ताक्षर गरेर अञ्जिलालाई मोरङबाट काठमाडौँ ल्याएका थिए । श्रेष्ठले अञ्जिलाको सङ्घर्ष र सफलताको कथाले धेरैलाई ‘इन्स्पायर’ गर्छ भन्ने लागेर सिनेमा बनाएको बताए ।

२०५३ मा पाँचथर जिल्लाको फाक्तेपमा जन्मिएकी अञ्जिलाले १३ वर्षको उमेरदेखि नै फुटबल खेल्न सुरु गरेकी थिइन् । सन् २०१४ मा श्रीलङ्कामा सम्पन्न एएफसी यु–१४ गर्ल्स रिजनल ट्रफीबाट अन्तर्राष्ट्रिय प्रतियोगितामा डेब्यू गरेकी उनी २०१४ बाट राष्ट्रिय टिममा परेकी थिइन् । तर, उनी २ वर्ष बेन्चमै सीमित भइन् । त्यसयता भने उनी महिला राष्ट्रिय फुटबल टिमको भरपर्दो गोलरक्षक बनेकी छन् । अञ्जिला ‘पल्सर स्पोर्टस् अवार्ड २०७७’ को पिपुल च्वाइस अवार्डको मनोनयनमा समेत परेकी थिइन् । यो विधामा मनोनयनमा पर्ने अञ्जिला फुटबलकी एक मात्र खेलाडी हुन् ।

अञ्जिला ओलम्पिक क्वालिफाईङ राउन्डमा दोस्रो राउन्ड सम्म खेल्ने पहिलो महिला गोलरक्षक हुन् । यसै गरी उनी चीनमा भएको एसियन गेम्स खेल्ने, हिरो गोल्ड कपमा भारतलाई जित्ने, साफको सेमिफाइनलमा भारतलाई जित्ने पहिलो गोलरक्षक र क्याप्टेन हुन् । उनी साफको सिल्भर मेडलिष्ट गोलरक्षक हुन् भने श्रीलङ्कामा भएको साउथ रिजनल जोन टुर्नामेन्टमा भारत, इरान, भुटान, ताजकिस्तान र श्रीलङ्कालाई जितेर पहिलो पटक गोल्ड मेडल ल्याउने गोलरक्षक हुन् । पाकिस्तान लिगमा उनी गोलरक्षक रहेर पनि दुई गोल गरेकी थिइन्, जुन गोलरक्षक खेलाडीको इतिहासमा पहिलो बनेको थियो ।

सुदीप बरालको डिओपी रहेको यस सिनेमाका सम्पादक मिलन श्रेष्ठ हुन् । मुन लभ इन्टरटेन्मेन्टको ब्यानरमा बनेको सिनेमाका निर्माता प्रेम कुमार श्रेष्ठ हुन् भने विनोद अग्रवाल र राजेश बगडिया सह-निर्माता हुन् । विनोद सुवेदी खत्री यसका निर्माण नियन्त्रक हुन् ।