Sur Cinema

गायिका सहिमालाई नारायणगोपाल युवा सङ्गीत पुरस्कार प्रदान

काठमाडौं : राष्ट्रिय युवा सेवा कोषले यस वर्षको नारायणगोपाल युवा सङ्गीत पुरस्कार गायिका सहिमा क्षेष्ठलाई प्रदान गरेको छ । कोषले उत्कृष्ट युवा पुरस्कार भने मेनुका पौडेललाई प्रदान गरेको छ ।

काठमाडौं स्थित नेपालकला परिषदमा आयोजित कार्यक्रममा श्रेष्ठ र पौडेललाई पुरस्कृत गरिएको हो । ‘धिङ्ताङ-धिङ्ताङमा दलमात्रै कति बजाउने‘, ‘ढिकिच्याउ-ढिकिच्याउ’ र ‘राइफल सिरानी’ गीतकी गायिका श्रेष्ठलाई आधुनिक गीत-सङ्गीतको क्षेत्रमा पुर्‍याएको योगदानको कदर गर्दै कोषले ४० हजार रुपैयाँ नगदसहित स्वर सम्राट नारायणगोपाल गुरुवाचार्यको स्मृतिमा स्थापित नारायणगोपाल युवा सङ्गीत पुरस्कारबाट सम्मान गरेको हो ।

यस्तै इन्डियन आइडलजस्तो भारतीय चर्चित ट्यालेन्ट शोमा आफ्नो उत्कृष्ट गायनको माध्यमबाट उत्कृष्ट १० मा पुग्न सफल हुनुभएकी मेनुका पौडेललाई कोषले उत्कृष्ट युवा पुरस्कार प्रदान गरेको छ । फरक क्षमता हुनुभएकी मेनुकालाई १० हजार राशिसहित सम्मान गरिएको हो । कोषले शम्भुजित बाँस्कोटा, सङ्गीता शाक्य र सन्तोष श्रेष्ठ रहनुभएको छनोट समिति बनाएको थियो ।

कार्यक्रममा वनस्पति शास्त्री एवम् प्राज्ञ तीर्थबहादुर क्षेष्ठले गीत-सङ्गीतका क्षेत्रमा सम्मान गर्ने कुराको पहल स्वर सम्राट नारायणगोपालले नै गर्नुभएको स्मरण गर्नुभयो । कोषका अध्यक्ष प्रदीपमान वैद्यले गायीकाद्वय सहिमा र मेनुकालाई पुरस्कृत गरेर कोष स्वयम पुरस्कृत भएको उल्लेख गर्नुभयो ।

कोषका सदस्य सचिव विष्णुबहादुर भण्डारीले ३२ वर्ष अघि स्थापना भएको कोषले हालसम्म ४८ जना श्रष्टालाई सम्मान गरिसकेको जानकारी दिनुभयो ।