Sur Cinema

रङ्गेलीको माहौलमा रङ्गिन चाहने ‘मान बहादुर ढकाल’

काठमाडौं : रङ्गमन्चमा आफ्नै छवि बनाईसकेका अभिनेता प्रविण खतिवडा यही शुक्रवार रिलिज हुने सिनेमा ‘रङ्गेली’को मुख्य भुमिकामा छन् । उनि यस सिनेमामा प्रहरी अफिसर”मान बहादुर ढकाल” भुमिकामा देखिएका छन् । ट्रेलरमा उनी ‘चौथो काल, मान बहादुर ढकाल’ भन्दै गोलाबारी गरिरहेका देखिन्छन् । प्रविणको भनाइमा उनको ‘प्रहरी अफिसर’ चरित्र अनुशासनमा नबस्ने किसिमको छ ।

‘म रङ्गेलीको माहौलमा रङ्गिन हुन चाहने पुलिस अफिसरको चरित्रमा छु । त्यो चरित्रमा घुस खानेदेखि लिएर फिल्मी शैलीको पुलिस चरित्र दर्शकले पाउँछन् । फिल्मी हिसाबले नै प्रस्तुत भएको छु । जुन कुरा ट्रेलरमा पनि देखाइएको छ’, प्रविण भन्छन् ।

उनलाई प्रहरी अफिसरको चरित्र निभाइरहँदा निकै मज्जा लागेको रहेछ । उनका अनुसार आफ्नो चरित्र निभाउनु अघि त्यसमा देखिएका ‘पोलिटिकल्ली इनकरेक्ट’ कुराहरूलाई कसरी डिल गर्ने भनेर अन्य कलाकार र निर्देशकसँग छलफल गरिएको थियो ।

उनले प्रहरी चरित्र निभाइरहँदा प्रहरीलाई राजनीतिभन्दा अलग राखेर ‘ट्रिट’ गर्ने राम्रो व्यवस्थापन भएमा कानुनको रक्षा हुने बुझेका रहेछन् । ‘यदि राजनीतिक रूपमा प्रहरीलाई चलाउन थाल्ने हो भनेदेखि यस्ता खालका घटनाहरू समाजमा अझ बढ्नेछन् भन्ने अनुभव भयो’, प्रविणले भने ।

के उनको चरित्रले दर्शकलाई ‘कनेक्ट’ गर्न सक्ला त ? प्रविण आफ्नो चरित्रले दर्शकलाई ‘कनेक्ट’ गर्ने दाबी गर्छन् । ‘किनभने सिनेमा हेरिसकेपछि यस्तै खालको प्रहरी भेटेका थियौँ अथवा ओहो यस्तै खालको आयो भने के हुने हो भन्ने कुरा दर्शकको मनमा उब्जिन सक्छ । त्यो अगाडिको प्रहरी यस्तै थियो भन्ने जस्तो पनि लाग्छ । दर्शकले सिनेमामा दोहोरो कनेक्सन भेट्नुहुन्छ’, उनी भन्छन् ।

‘रङ्गेली’लाई अर्जुन सुवेदीले लेखन तथा निर्देशन गरेका छन् । यसमा दयाहाङको साथमा मिरुना मगर, अर्पण थापा, प्रवीण खतिवडा, रमेश बुढाथोकी, रुपेश झा, सुन्दर धिताल लगायतको प्रमुख भूमिका रहेको छ । यस सिनेमाका गीतहरूमा हर्क साउद, अर्जुन सुवेदी र सबिन एकतारेको शब्द रचना तथा सुशान्त गौतम र हर्कुलस बस्नेतको सङ्गीत रहेको छ ।

सिनेमाका कार्यकारी निर्माताहरू जीतेन्द्र खतिवडा र अनुज जङ्ग थापा हुन् । निर्माताहरू संसार चौलागाईं र रमेश भट्टराई वशिष्ठ हुन् भने युवक कार्की र शिव शङ्कर चौलागाईँ सह-निर्माता हुन् । विवेक खड्का (योलो) एशोसियट निर्माता हुन् । छांयाकार सुशन प्रजापति हुन् ।