काठमाडौं : प्रतिक्षित सिनेमा “महाजात्रा” को ट्रेलर सार्वजनिक भएको छ । ३ मिनेट ४५ सेकेन्डको ट्रेलरमा झुट र ठगको चङुलमा परेका कलाकार बिपिन कार्की, रविन्द्र सिंह बानियाँ र रविन्द्र झाका ब्यथालाई देखाईएको छ । यस अघि सार्वजनिक प्रचार सामाग्रीलाई पनि दर्शकले मन पराउदै आएकोमा यही बिच ट्रेलर सार्वजनिक भएको हो । सिनेमा यही चैत ९ गतेबाट सार्वजनिक प्रदर्शनमा आउदै छ ।
सिनेमामा हरिवंश आचार्य, वर्षा राउत, गौमाया गुरुङ, दिब्य देव, अर्जुनजंग शाही, प्रकाश घिमिरे, राजाराम पौडेल, प्रवीण खतिवडा, सुमन कार्की, शिशिर बाङ्देल, अरविन खड्का लगायतका कलाकारहरुको अभिनय रहेको छ ।

म्याक्स दीपेश खत्री र यज्ञश्वर पौडेलको संयूक्त निर्माण रहेको सिनेमाको डायस्पोरा प्रदर्शन अधिकार एमएसएम इन्टरटेनमेन्टले लिएको छ । जित बहादुर रुवाली एसोसियट निर्देशक रहेको सिनेमामा पुरुषोत्तम प्रधान छायाँकन, कुमार महर्जन द्वन्द्व निर्देशन, कविराज गहतराज नृत्य निर्देशन तथा आशिष अविरल संगीत, रूपकप्रताप अधिकारी प्रोडक्सन डिजाइनर रहेका छन् । सिनेमाको लेखन तथा निर्देशन प्रदीप भट्टराईले गरेका हुन् ।















