Sur Cinema

Edit Content
Edit Content

ताजा अपडेट

‘अगस्त्य’को अग्रीम टिकट बुकिङ खुल्ला, देशभर २ सय ५० बढी शो

काठमाडौं : यही शुक्रबारबाट विश्वव्यापी प्रदर्शनमा आउन लागेको सिनेमा ‘अगस्त्य च्याप्टर १’ को एडभान्स बुकिङ खुलेको छ । सार्वजनिक प्रचार सामाग्रीबाटै प्रतिक्षित सिनेमालाई देशका अधिकांश थिएटरले उच्च शो दिएका छन् । सौरभ चौधरी निर्देशित सिनेमालाई देशकै ठूलो मल्टिप्लेक्स चेन क्युएफएक्सले उपत्यकाभित्र १५ शो दिएको छ भने उपत्यकाबाहिर २९ शो दिएको छ ।

यस्तै काठमाडौंको वान सिनेमाजले दुई चेन गरेर ८ शो, बीग मुभिजले ३ शो, एफक्यूबले ३ शो, बीएसआरले ४ शो, आइएनआई चेनले सबै हलमा गरेर १२ शो दिएको छ । उपत्यका बाहिरका अन्य थिएटरले प्रत्येक थिएटरमा ३–३ शो दिएका छन् । शोको अनुपात हेर्दा देशभरका १ सय ११ सिनेमा हलले ‘अगस्त्य च्याप्टर १’लाई २ सय ५९ शोहरु उपलब्ध गराएका छन् ।

सिनेमामा सौगात मल्ल र नाजिर हुसेनको एक्सन लुक्स, प्रमोद अग्रहरिको भिलेन लुक्स र र निश्चल बस्नेतको झलकले पनि महत्व बढाइदिएको छ । टिजर र ट्रेलरमा प्रयोग गरिएको व्याकग्राउन्ड स्कोरले पनि चर्चा उत्तिकै पाइरहेको छ ।

सिनेमामा सौगात, नाजिर, प्रमोद र निस्चलका अलावा मलिका महत, बेन बस्नेत, विजय बराल, रवीन्द्र झा, शिशिर बाङ्देल, सिम्रन खड्का, प्रकाश दाहाल, प्रदीप ढकाल, गजेन्द्र त्रिपाठी, सचिन चन्द्रलगायतका कलाकारको अभिनय छ । विश्व गौचन र अभिषेक चौधरी कार्यकारी निर्माता तथा प्रकाश मल्ल, अनिस तामाङ र विनोद पौडेल निर्माता रहेको सिनेमामा सन्जय लामाको छायांकन, निर्देशक चौधरी स्वयंको लेखन, निमेष श्रेष्ठको सम्पादन, कविराज गहतराजको कोरियोग्राफी, श्री श्रेष्ठको द्वन्द्व निर्देशन र एसडी योगीको संगीत छ ।

डार्क हर्स इन्टरटेनमेन्ट र सेभेन सिज इन्टरटेनमेन्टको प्रस्तुति रहेको सिनेमा अमेरिका र बेलायतमा ८ सयदेखि एक हजार शो, क्यानडामा १ सय ५० शो, युरोपका अन्य देशसँगै जापान, कोरिया, हङकङ र थाइल्यान्डमा १ सय ५० शो, अष्ट्रेलिया र न्युजिल्याण्डमा पाँच सय शो र मध्यपूर्वका देशहरूमा ७ सय ५० शोमा रिलिज हुने छ ।