Sur Cinema

Edit Content
Edit Content

ताजा अपडेट

‘बलिदान’मा जोडिए आर्टमान्डु टिम

काठमाडौं : सन्तोष सेनको मेघा प्रोजेक्टको रूपमा रहेको सिनेमा ‘बलिदान’मा गायक सुजन चापागाईँ जोडिएका छन् । सुजनसँगै उनको साङ्गीतिक संस्था आर्टमान्डु टिमका सदस्यहरू गीतकार हर्क साउद र निर्देशक नवीन चौहान पनि ‘बलिदान’मा आबद्ध भएका छन् । सिनेमाका गीत तथा ब्याकराउण्ड म्युजिकमा यो टिमले नेतृत्व गरी काम गर्नेछ । हर्कले गीत रचना गर्नेछन्, सुजनले गीतमा सङ्गीत तथा स्वर र ब्याकराउण्ड म्युजिक तयार गर्नेछन् भने नवीनले टिम व्यवस्थापन गर्नेछन् ।

नेपाली सिनेमामा सम्भवतः पहिलो पटक यसरी एकै टिमलाई नै सङ्गीतको जिम्मेवारी दिइएको हो । यसअघि सुजनले केही सिनेमाको लागि फुटकर गीतहरूमा आवाज दिएता पनि पहिलो पटक सबै जिम्मेवारी लिएका हुन् । ‘तीन पाते’, ‘फूलथुंगे रानी’ , ‘लजाएर’, ‘गाला पुक्क’, ‘घुमी घुमी’, ‘मिलेको जीउ छिनेको कम्मर’, ‘बाफ’ लगायतका सुजनका सुपरहिट गीतहरू हुन् ।

दर्शक तथा श्रोताका लोकप्रिय गायक तथा सङ्गीतकारलाई सिनेमामा आबद्ध गराउन निर्माता तथा निर्देशक सेनले लामो समयदेखि छलफल गरिरहेका थिए । टिमको आबद्धतासँगै हाल गीत सङ्गीतको विषयमा कार्यशाला भइरहेको छ । निर्देशक सेनले सिनेमाको कथा र मर्म अनुसारका गीत उत्पादन गर्नको लागि केही दिन छलफलमा रहने जानकारी दिए ।

‘बलिदान’को टिजर छायाङ्कन अगावै रिलिज भई व्यापक चर्चामा रहेको छ । सम्भवतः नेपाली सिनेमाको इतिहासमा नै पहिलो पटक प्री-प्रडक्शनमा रहँदा नै टिजर रिलिज भएको हो । आसुसेन फिल्म्सको ब्यानरमा बन्न लागेको यस सिनेमामा कलाकारहरूको विषयमा भने केही खुलासा गरिएको छैन ।

आसुसेन प्रा.ली. तथा सन्तोष सेनको प्रस्तुति रहने यस सिनेमामा निर्माताको रूपमा पवन ब्राडफोर्ड बिस्ट तथा कार्यकारी निर्माता चक्र बहादुर चन्द, प्रेम पुरी लगायत रहेका छन् । यस सिनेमामा त्रिभुवन विश्वविद्यालयका प्राध्यापक, लेखक एवम् साधक दर्शन जीको लेखन रहने छ ।