Sur Cinema

Edit Content
Edit Content

ताजा अपडेट

दिपकराज गिरी र ‘सुन्दर मेरो नाम’…

काठमाडौं : जहिले पनि नेपाली सिनेमामा बहसको विषय हुने भनेको अहिलेको नम्बर वान नायक को हो ? सुपरस्टार को हो ? महानायक को हो ? यसमा सबैको आ -आफ्नो विचार हुन सक्छ । यसको उत्तर अनेक तरिकाबाट दिन सकिन्छ । कसैलाई पारिश्रमिकको हिसाबमा, कसैलाई सिनेमाको हिसाबमा, कसैलाई अभिनयको हिसाबमा र कसैलाई व्यापारको हिसाबमा । यी कुराहरूलाई मध्यनजर गरेर गर्दा अहिलेको नम्बर वान नायक भने दीपकराज गिरीलाई मान्न सकिन्छ । उनी द्वारा निर्मित र अभिनित सबै सिनेमाहरु सुपरहिट भएका छन् ।

अहिलेको समयमा दीपकद्वारा निर्मित र अभिनित सिनेमाहरूमा ‘छ एकान छ’, ‘वडा नम्बर ६’, ‘छ माया छपक्कै’, ‘छक्का पञ्जा’ सिरिज र ‘शत्रु गते’ आदि सबै व्यापारिक हिसाबले सुपरहिट सिनेमा हुन् । त्यसैले पनि व्यापारिक हिसाबमा नम्बर वानको दर्जामा कुनैपनि शंका बिना दीपकराज गिरीलाई राख्न सकिन्छ ।

अब कुरा आउँछ, अहिलेका सर्वाधिक सफल कलाकार दीपकराज गिरीको नायकको रुपमा पहिलो सिनेमा कुन हो त? धेरैलाई थाहा नहुन सक्छ। दीपकराजको पहिलो सिनेमाको नाम ‘सुन्दर मेरो नाम’ हो। यस सिनेमामा उनी मुख्य भूमिकामा प्रस्तुत छन्। सिनेमाको ‘हिरो’ नै उनै हुन्।

‘सुन्दर मेरो नाम’ मा काम गर्नु भन्दा पहिला दीपकराज गिरीले सिनेमामा काम नगरेका भने होइनन्। उनको पहिलो सिनेमा भने ज्ञानेन्द्र देउजाले निर्देशन गरेको अनि सीमान्त उधासले प्रमुख भूमिका निभाएको ‘रक्षक’ हो। त्यो ताका पानी मुनी फाईट भएको पहिलो नेपाली चलचित्र भनेर खुबै प्रचार गरिएको थियो ‘रक्षक’ को । त्यसको लगत्तै उनले चिरञ्जीवी बस्नेतले निर्देशन गरेको तथा राजेश हमाल र विपना थापाले प्रमुख भूमिका निभाएको सिनेमा ‘चोर’मा पनि काम गरे । यो सिनेमा करीब करीब हिन्दी सिनेमा ‘अनाडी’को कपी नै थियो।

उनले क्यामरा फेस गरेको पहिलो सिनेमा भने अनिश कोइरालाको ‘जाली रुमाल’ हो जसमा उनी ‘माछा पानीमा पौडीए सरी’ भन्ने गीतमा कोरशमा नृत्य गर्दै गरेका देखिन्छन् । त्यसपछि पनि उनले विभिन्न नेपाली सिनेमामा सानोतिनो भूमिका निर्वाह गरेका थिए ।

सिनेमा ‘सुन्दर मेरो नाम’का लागि दीपकराज गिरी पहिलो रोजाइ भने थिएनन्। यस सिनेमाका लागि हरिवंश आचार्यलाई अफर गरिएको थियो तर हरिवंश आचार्यले समयको अभावले नभ्याउने भएपछि यो सिनेमामा दीपकराज गिरीले प्रमुख भूमिका निभाउने अवसर पाएका थिए ।

सानोतीनो भूमिकामा काम गर्नको लागि पनि स्ट्रगल गरिरहेका दीपकराज गिरीलाई यो भूमिकामा काम गर्न पाउनु भनेको निकै नै चुनौतिपूर्ण थियो । सानो भूमिका गरिरहेका कुनैपनि कलाकारलाई एकै चोटी मुख्य भूमिका निभाउने अवसर पाउँदा चुनौतीपूर्ण हुनु स्वाभाविक पनि हो । शारीरिक रुपमा अलग देखिने यो भूमिका निभाउन दीपक राज गिरी जस्ता माझिएका कलाकारलाई गाह्रो भने भएन ।

यो सिनेमामा दीपक राज गिरीको पहिलो दृश्य भने ओम हस्पिटलमा खिचिएको थियो । नायिका गरिमा पन्तको आँखा ठीक भएको कारण त्यहाँ दीपकराजले खुसी हुँदै लड्डु बाँडनुपर्ने दृश्य थियो त्यो । त्यो दृश्य गर्न उनलाई खासै गाह्रो भएन । पहिलो टेकमै यो दृश्य ओके भयो।

यो सिनेमा व्यापारिक रुपमा असफल भएपनि नायकको रुपमा सिनेमामा आउने दीपकराज गिरिको सपना भने यो सिनेमाले पूरा गरेको थियो । गल्ली गल्लीमा , पोल पोलमा, भित्ता भित्तामा आफ्नो पोष्टर टासिदा को चाहिँ खुशी हुँदैन र ? दीपक पनि खुशी भए ! उनले कुनै पनि प्रश्न नउठ्ने गरी आफ्नो भूमिका बडो जबर्जस्त तरिकाले निभाएका छन् । मानिस असफलतामा आत्तिनु र सफलतामा मात्तिनु हुन्न भन्ने कुरा पनि उनले यहीँ बाट सिकेको हुनुपर्छ ।

यो सिनेमाका प्रमुख कलाकारहरुमा दीपकराज गिरी, गरिमा पन्त, दीपा श्री निरौला ( गेस्ट अपीरियन्स) , रमित ढुंगाना, श्याम राई आदि छन् भने यसको निर्देशन विजय थापाले गरेका हुन् । दिपकराज गिरीलाई आगामी सिनेमाको लागि शुभकामना ।