Sur Cinema

‘माझी बनेर आयौ’ : सुन्दा कानलाई आनन्द दिने गीत

काठमाडौं : पछिल्लो समय नेपाली सांगीतिक क्षेत्रलाई नियाल्ने हो भने अधिकांश हेर्ने गीतहरू रिलिज हुनेगरेका छन्। खासमा त गीत भनेको सुन्ने हो। सुनेर आनन्द लिने हो, सुनेर मन शान्त पार्ने हो। अझै भनौं गीत भनेको सुनेर नै अनुभुति गर्ने हो। तर पछिल्लो समय गीतहरुमा यस्तो पाइँदैन।

पछिल्लो समय त झन् म्युजिकल गीतहरु बन्ने लहड बढ्दो छ। गीतसँगै एउटा कथा घुसाएर म्युजिक भिडियो तयार पारिन्छ। जसले गर्दा दर्शक स्रोतहरु गीतको भाव भन्दा पनि भिडियोको कथातिर बढी आकर्षित हुन्छन्। तर यसै भिडमा एउटा सुन्ने गीत बजारमा रिलिज भएको छ।

बुधबार एउटा सुन्न लायक ‘माझी बनेर आयौ’ बोलको गीत रिलिज भएको हो। गीतमा बबिना भट्टराईको स्वर रहेको छ। त्यस्तै गीतको शब्द चाहिँ सुनिता प्रसाईंले लेखेकी हुन्। गीतमा संगीत भने गायिका भट्टराईकै रहेको छ।

एउटा सही मान्छेको आगमन अनि प्रेमले कसैको जीवनमा आएको सकारात्मक परिवर्तनलाई गीतमा शब्द मार्फत उतारिएको छ। गीतको भाव अनुसारकै संगीत छ। गीतमा बबिनाको गायिकी मर्मस्पर्शी छ। जसले गर्दा गीत सुन्दा आनन्द लाग्ने गर्छ। सुन्दा कानलाई कत्ति पनि कर्कश महशुस हुँदैन। एउटा सुन्न मिल्ने गीत हो यो भन्दा फरक पर्दैन।

गीत निकै सरल छ। तर अर्थपूर्ण र मिठासयुक्त छ। सुन्ने गीत कुरेर बसेका स्रोतालाई यो गीतले धित पुर्‍याउन सक्छ। त्यसो त, गीतको भिडियो पनि निकै सरल छ। कुनै तामझाम छैन भिडियोमा। सामान्य स्टुडियो भर्सनमा भिडियो निर्माण गरिएको छ।

भिडियोमा गायिका स्वयं फिचर्ड छिन्। भिडियोमा उनले गरेको लिप्सिङले दर्शकहरु प्रत्यक्ष गीतको अडियोसँग केन्द्रित हुन्छन्। जसले गर्दा गीतको भाव महशुस हुन्छ।