काठमाडौं : यतिबेला नायिका वर्षा राउत सिनेमा ‘महाजात्रा’को सुटिङमै व्यस्त छिन्। सुटिङमै व्यस्त भएपनि आफ्नो समय निकालेर विभिन्न ब्रान्ड एवम् कम्पनीको उद्घाटनमा समेत सरिक भइरहेकी हुन्छिन् वर्षा।
शनिबार मात्रै वर्षाले राजधानीको चोभार स्थित मन्जुश्री पार्कमा संचालनमा ल्याइएको ‘क्यानोपी जिपलाइन’को उद्घाटन गरिन्। नेपालकै पहिलो भनिएको उक्त प्रकारको जिपलाइनको अनुभव पनि उनले लिइन्। जिपलाइनको अनुभव पश्चात् उनले मिडियाकर्मीहरुसँग कुराकानी समेत गरेकी थिइन्।
मिडियासँगको कुराकानीमा वर्षाले अब आफैमा निर्भर रहेर एउटा नयाँ व्यापारमा चुनौती लिने इच्छा रहेको बताएकी थिइन्। आजसम्म आफ्ना श्रीमान संजोग कोइरालाको भरमा व्यापार गरिरहेको र अब चाहिँ आफैंमा निर्भर रहेर व्यापारमा चुनौती लिने उनले बताएकी हुन्। तर नयाँ व्यापारको चुनौती कहिले लिने भन्ने बारे चाहिँ वर्षाले खुलाइनन्।

जे होस्, वर्षा कम सिनेमामा काम गरेपनि दर्शकको नजरमा चाहिँ छाइरहेकी हुन्छिन्। सिनेमाका अलावा म्युजिक भिडियो, विभिन्न ब्रान्डको विज्ञापनमा उनको व्यस्तता रहने गर्दछ।

















