काठमाडौं : लभस्टोरी सिनेमामा निकै रुचाइएकी नायिका हुन् पूजा शर्मा। उनले आजसम्म काम गरेका सिनेमाहरु प्रायः प्रेमकथामा आधारित छन्। तर अब भने पूजाले अभिनत मार्फत एक्सन सिनेमाको स्वाद दर्शकलाई चखाउनेभएकी छिन्।
बिहीबार मात्रै पूजाले काम गरेको नयाँ एक्सन सिनेमा ‘दान्भी’को टिजर रिलिज भयो। राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै निर्माण टिमले टिजर रिलिज गरेको हो। रिलिज गरिएको १ मिनेट ३३ सेकेन्ड लामो टिजरमा पूजालाई एक्सन अवतारमा देख्न सकिन्छ।

टिजरनै एक्सनले भरिएको छ भन्दा फरक नपर्ला। लभस्टोरी जनरामा जमिरहेकी पूजाले पहिलोपटक एक्सन सिनेमा गरेकी हुन्। ‘दान्भी’को टिजर हेर्दा पूजा एक्सनमा पनि फिट हुने अनुमान गर्न सकिन्छ। उनले एक्सनलाई न्याय गरेकी छिन्।

उसो त, टिजरमा नायक कुन्साङ बम्जनलाई पनि एक्सन अवतारमै प्रस्तुत गरिएको छ। पूजा र कुन्साङलाई हल्का रोमान्टिक अवतारमा पनि देख्न सकिन्छ। यो पटक दर्शकले पूजाबाट फरक कामको आश गरेका छन्।

रुपेश तामाङ निर्देशित ‘दान्भी’मा रविन थापामगरको कथा रहेको छ। सिनेमामा देव मगर र अनुप गदाल निर्माताको रुपमा रहेका छन्। कार्यकारी निर्मातामा चाहिँ पवन राना मगर छन्। सिनेमाको भने रिलिज मिति तय गरिएको छैन।

















