Sur Cinema

Edit Content
Edit Content

ताजा अपडेट

‘परदेशी २’ : केक काटेर साटे ५१ औं दिनको खुशी

काठमाडौं : असोजको २६ गतेबाट प्रदर्शनमा आएको नारायण रायमाझी निर्देशित सिनेमा ‘परदेशी २’ले प्रदर्शनको ५१ औं दिन पूरा गरेको छ । राजधानी र मोफसलका केही हलमा यो सफलता प्राप्त गरेको हो । सिनेमाले ५१ दिन पूरा गरेको अवसरमा निर्माण पक्षले केक काटेर खुशीयाली साटेको छ ।

शनिवार बेलुका आयोजित सेलिब्रेसन कार्यक्रममा अभिनेता प्रकाश सपूत, अभिनेत्री केकी अधिकारी, निर्माता राजेश वंशलसहित सिनेमाको उपस्थित टिमले केक काटेर खुशी साटेका हुन् । सो अवसरमा बोल्दै अभिनेता सपूतले पहिलो सिनेमाले नै ५१ दिन मनाउनु आफ्नो लागि अविश्वनिय सफलता रहेको बताए ।

‘बच्चैदेखि सिनेमा खेल्ने सपना देखेको थिएँ । त्यो सपना पूरा भयो र त्यसले सफलताको इतिहास पनि लेख्यो’ उनले भने, ‘यो मेरो लागि अविश्वनिय सफलता हो । दर्शकबाट पाएको अपार प्रेमको हद हो । सबैप्रति कृतज्ञ छु ।’

अभिनेत्री अधिकारीले ५१ दिनको सेलिब्रेसनको पल आफ्नो लागि पहिलो रहेको बताइन् । ‘लगभग ३३ सिनेमामा कलाकार भएर अभिनय गर्ने मौका पाउँदा, १३ वर्षको करिअर ग्राफमा यो मोमेन्ट पहिलोपटक अनुभव गर्ने मौका पाएकी छु’ उनले भनिन् ‘उसो त यो भन्दा अगाडि ‘छ माया छपक्क’ै पनि ५१ दिन पूरा गरेको सिनेमा हो । तर, यसरी सेलिब्रेट गर्ने मौका पाएका थिएनौं । त्यसैले यो मोमेन्ट मेरो लागि धेरै महत्वपूर्ण छ ।’

निर्माता वंशलले सिनेकर्मी र सिनेमाका लागि दर्शक सबैभन्दा ठूलो पक्ष रहेको बताउँदै सिनेमा निर्माणदेखि प्रदर्शनसम्म आउँदा जोडिने सम्पूर्ण व्यक्तिलाई उनले धन्यवाद दिए ।

राजधानीसहित मोसफलका केही हलमा सिनेमा प्रदर्शन भइरहेको बताउँदै विश्वका धेरै देशहरुमा प्रदर्शन सुरु भइसकेको उनले जानकारी दिए ।

वितरक एफडी कम्पनीका छवीराज ओझाले पछिल्लो समय सिनेमालाई हलमा एकसाता पनि टिक्न मुस्किल भइरहेको समयमा ‘परदेशी २’को यो सफलता आफैमा ठूलो रहेको बताए ।

सिनेमाका निर्देशक रायमाझी भने विदेश प्रदर्शनका लागि अमेरिकामा रहेकाले कार्यक्रममा उपस्थित थिएनन् । अभिनेत्री वर्षा शिवाकोटी काठमाडौं बाहिर रहेकाले कार्यक्रममा उपस्थित हुन नसकेको जानकारी दिइयो ।

यो सिनेमाले नेपालमा ८ करोड हाराहारी ग्रस कलेक्सन गरेको निर्माण पक्षले जनाएको छ । युवापुस्तामा रहेको विदेश मोह, त्यसले परिवार र समाजमा पारेको प्रभावको कथामा बनेको सिनेमालाई रमेश बिजीले लेखेका हुन् ।

सिनेमामा प्रकाश, केकी र वर्षासँगै प्रशान्त तामाङ, दिलीप रायमाझी, नीर शाह, रमा थपलिया, सबिन बास्तोला, देवेन्द्र बब्लुलगायतको समेत शीर्ष भूमिका छ ।