Sur Cinema

Edit Content
Edit Content

ताजा अपडेट

मेनुका पौडेलको यात्रा र परिपक्वता !

काठमाडौं : नेपाल आईडलको पहिलो सिजनमा सहभागी हुँदा गायिका मेनुका पौडेल १८ वर्षकी थिइन्। रेडियो नेपालको गायन प्रतियोगितामा सहभागीता जनाउँदै  गर्दा प्रथम भएपछि उनले नेपाल आइडल मार्फत संगीतको प्रतिस्पर्धालाई अघि बढाएकी थिइन्।

उनीमा केही अपरिपक्वता बाँकी नै थियो। तर टप ११ मा पुगेर आउट हुँदैगर्दा भोट नै मेनुका आउट हुने कारक तत्व बन्यो। त्यसपछि आफूलाई निखार्दै लगेकी उनले भारतिय रियालिटी शो ‘सारेगमप’मा सहभागीता जनाइन्। त्यहाँ पनि उनी ११ औं  स्थान मै पुगेर बाहिरिईन्। भोटको प्रक्रिया सुरु नहुँदै उनलाई प्रतिस्पर्धाबाट बाहिर निकालियो । जे होस, त्यत्रो भारत देश र त्यहाँको प्रतिस्पर्धीकाबिच एक सानो देश नेपालबाट प्रतियोगितामा गएकी उनी प्रतिस्पर्धामा यति अघि बढ्नु सानो कुरा भने होइन ।

‘सारेगमप’बाट बाहिरिएकी मेनुका फ़ेरि भारतकै अर्को रियालिटी शो ‘इन्डियन आईडल’को तयारीमा लागिन् । पहिलो कार्यक्रममा उनको पहिलो प्रस्तुतिले नै वाहवाही कमायो । उनले गोल्डेन माईक पाईन्  र सफलताको लामो फड्को एकै पटकमा पार गरिन् ।

अब उनले पन्ध्र प्रतिस्पर्धीसंगै अघि बढ्नु पर्ने हुन्छ । यसै क्रममा छिन उनी । अहिले नेपाल र भारत भर उनको गायकिको चर्चा छ । स्वरको जादुले उनले धेरैको मन जितेकी छिन्। तर अहिलेको भारतको चर्चाको कारण नेपालमा भने केही व्यक्तिले वितृष्णा फैलाएका छन्। नेपाल आइडबाट बाहिरिनु र नेपालमा गायनमा सफलता नपाउनुलाई धेरैले धेरै तरिकाले व्याख्या समेत गरेका छन्।

मेनुकालाई नेपाल आईडलका जजहरुले विभेद गरेको यतिबेला केही व्यक्तिहरुको तर्क छ । तर यो भन्दै गर्दा ध्यान दिनुपर्ने कुरा उनीमा पहिलेको भन्दा अहिले स्वरमा परिपक्वता आएको छ। संगीतको ज्ञान र अभ्यासले उनले आफ्नो आवाज निखार्दै गएकी छिन्। होइन भने जजको कुर्सीमा बसेका व्यक्तिले यसै निर्णय त किन गर्थे होलान् र । साथै ध्यान दिनुपर्ने अर्को कुरा, उनी नेपाल आईडलमा भोटका कारण बाहिरिएकी थिइन्।

रियालिटी शोका सबैले उस्तै चर्चा र अवसर पाउँछन् भन्ने हुँदैन। शो’का विजेता नै गुमनाम हुँदै गर्दा टप ३०”मा परेकाहरुको व्यस्तता लोभलाग्दो त हाम्रै देशमा देखिएको छ । त्यसैले मेनुका नेपालमा नचल्नु र भारतमा चल्नुमा नेपालीको दोष छ भन्न मिल्दैन । भारत कै ‘सारेगमप’मा पनि त उनी गएकी थिइन्। उक्त समयमा चर्चा भयो र समय बित्दै जाँदा चर्चा हरायो पनि।

यतिबेला जजले गरेको प्रशंसा र बलिउड नायक रणविर कपुरले खुट्टा छोएको कुरा चर्चामा छ । रियालिटि शो कति रियल र कति स्कृप्टेड हुन्छ त्यो सबैलाई थाहा छ । यति भन्दै गर्दा कलाकारले आफुले टेकेको धरातल नबिर्सिनु राम्रो कुरा हो।सही प्रतिभाको सम्मान गर्नु अझ राम्रो कुरा हो। तर नेपालमा केही भएन भारतकाले इज्जत दिए भन्नू चाही अलिक पाच्य हुदैन कि ?

अन्ततः  मेनुका आफैमा एक अब्बल गायिका हुन्  । उनको स्वरमा जादु छ । यी र यस्ता शो’ले उनलाई बजार दिएको सत्य हो, चर्चा पाएको पनि सत्य हो । तर संगीतका सच्चा भक्तको मनमा बस्न मेनुका र मेनुकाहरुलाई कुनै शो’को जरुरत हुँदैन । जरुरत हुन्छ त केवल लगनशिलता र निरन्तरताको। आफू भित्रको भगवानले दिएको देन स्वरलाई अभ्यास र लगनले निखार्ने मेनुकाप्रति हार्दिक नमन ।