काठमाडौं : एकताका एक्सन स्टारले नेपाली सिनेमा क्षेत्रमा एकछत्र राज गरेका नायक हुन् बिराज भट्ट। उनका सिनेमा त्यो समयमा दर्शकले पनि खुब रुचाए। बिराजले सयौं सिनेमामा काम गरे।
बिस्तारै उनी नेपाली हुँदै भोजपुरी सिनेमा क्षेत्रमा प्रवेश गरे। भोजपुरीमा व्यस्त बनेपछि बिराजले नेपाली सिनेमामा समय दिन सकेनन्। स्पष्ट भन्नुपर्दा उनी भोजपुरीमै रमाउन थाले। तर लामो समयपछि उनले ‘साङ्लो’ सिनेमा निर्देशन गर्दै नेपाली सिनेमा उद्योगमा कमब्याक गरे।
‘साङ्लो’ बिराजले निर्देशन गरेको डेव्यू सिनेमा हो। जुन सिनेमालाई पनि दर्शकले रुचाएका थिए। अन्ततः ‘साङ्लो’ रिलिज भएको ४ वर्षपछि अर्को एक्सन सिनेमा ‘१२ गाउँ’ निर्माण गर्ने बिराजले घोषणा गरेका छन्।

बिहीबार आफ्नो फेसबुकमा सिनेमाको ‘टाइटल पोस्टर’ सार्वजनिक गर्दै ‘१२ गाउँ’ निर्माण अनि निर्देशन गर्न लागेको बिराजले आधिकारिक जानकारी दिएका हुन्। सिनेमालाई बिराज फिल्म प्रोडक्सन प्रालिले निर्माण गर्दैछ।
सिनेमामा कुन-कुन कलाकारलाई अनुनबन्धित गर्ने भन्ने कुरा चाहिँ बिराजले खुलाएका छैनन्। तर सिनेमा भने एक्सन अनि थ्रीलर जनरामा निर्माण हुनेछ।

















