काठमाडौं : निर्माता तथा निर्देशक सन्तोष सेन पृथक काम गर्न रुचाउँछन्। अरुभन्दा भिन्नै तर गुणस्तरीय काम गर्नुछ उनलाई। विशेषगरी नेपाली सिनेमा उद्योगमा बेग्लै छाप छोड्न सफल सन्तोषले फेरि अर्को नयाँ काम अगाडि बढाएका छन्।
उनले नयाँ सिनेमा ‘बलिदान’को काम थालनी गरेका छन्। सिनेमाको छायांकन त भएको छैन तर पनि उनले टिजर भने रिलिज गरिसके। आइतबार उनले ‘बलिदान’को धमाकेदार टिजर रिलिज गरेका हुन्।
१ मिनेट १५ सेकेन्ड लामो टिजर हेर्दा निकै धमाकेदार लाग्छ। उनले गरेको मिहेनत प्रष्ट झल्किन्छ टिजरमा। सिनेमाको पूरा छायांकनपूर्व नै खिचिएको टिजर निकै उच्च छ। टिजरको लागि मात्रै उनले धेरै बजेट खर्च गरेका छन्।
देशको आन्तरिक मामिलाको विषयमा भइरहेको आन्दोलनमा बाह्य तत्व भित्रीएपछि हुने द्वन्दलाई टिजरमा देखाइएको छ। देश जोगाउन आफ्नो ज्यान दिनपनि पछि नपर्ने युवाको जोसलाई पनि टिजरमा समावेश गरिएको छ। तर टिजरमा कुनै कलाकारको पनि अनुहार देखाइएको छैन। यो टिजरलाई सिनेमाको फर्स्ट ल्यान्डिङ भनिएको छ।
टिजर रिलिज भएपछि चौतर्फी चर्चा हुन थालेको छ। धेरैले ‘बलिदान’ एक्सन जनरामा निर्माण हुनेभएकोमा उत्साहित भएको बताएका छन्। युट्युबको कमेन्ट सेक्सन हेर्ने हो भने अधिकांश दर्शकले तारिफ गरेका छन्। कतिपयले त ‘बाहुबली’को दोस्रो रुप भनेर टिजरलाई ब्याख्या पनि गरेका छन्।
जे होस्, टिजर मात्रै रिलिज हुँदा पनि धेरैले वाहवाही गरेका छन्। यो निकै राम्रो कुरा हो। अब ट्रेलर, गीत अनि पूरा सिनेमा कस्तो बन्ला ? भनेर टिजरले नै कौतुहलता जगाएको छ।
‘बलिदान’लाई सन्तोष सेनले नै निर्देशन गर्नेछन्। आसुसेन फिल्म्सको ब्यानरमा निर्माण हुने सिनेमामा निर्माताको रूपमा पवन ब्राडफोर्ड बिस्ट तथा कार्यकारी निर्माता चक्र बहादुर चन्द र प्रेम पुरी रहेका छन् । सिनेमा अर्को वर्षको दशैंमा रिलिज हुनेछ।