काठमाडौं : आगामी शुक्रबारदेखि रिलिज हुन लागेको सिनेमा ‘दिमाग खराब’को अर्को गीत रिलिज गरिएको छ। ‘हजुरी’ बोलको मार्मिक गीत बुधबार रिलिज गरिएको हो।
गीतमा जयन जे वाइवा र मिना निरौलाको स्वर रहेको छ। गीतमा शब्द अनि संगीत भने जयन जेकै रहेको छ। गीत निकै मनछुने छ। अब भिडियोको कुरा गर्नुपर्दा झन् कारुणिक छ।
सिनेमाकि नायिका स्वस्तिमा खड्का, खगेन्द्र लामिछाने, दयाहाङ राई लगायतका कलाकारहरु भिडियोमा फिचर्ड छन्। जीवनमा पाएको दु:ख अनि पीडालाई भिडियोमा देखाइएको छ। भिडियो हेर्दा नै सिनेमाले दर्शकलाई रुवाउने होकि भन्ने आभाष हुन्छ।
सिनेमालाई निश्चल बस्नेतले निर्देशन गरेका हुन्। आकाश बरालले लेखेको सिनेमामा स्वस्तिमा खड्का, दयाहाङ राई, खगेन्द्र लामिछाने, अर्पण थापा, विजय बराल, सुमन कार्की, सुपुष्पा भट्ट, पुष्कर गुरुङ, माओत्से गुरुङ लगायतका कलाकारहरुको अभिनय रहेको छ। सुजन बम ठकुरी सिनेमाका निर्माता हुन्।