काठमाडौं : शुक्रबार राति नेपालको कर्णाली प्रदेशस्थित जाजरकोटलाई केन्द्रविन्दु बनाएर गएको भुकम्पमा परि धेरै ठुलो धनजनको क्षति भइसकेको छ। जाजरकोट र रुकुम यतिबेला पिडामा छ। यो पिडामा मल्हम लगाउन धेरै संघसंस्था तथा व्यक्तिहरुले लागिपरेका छन्। यसैबीच, निर्माता तथा निर्देशक सन्तोष सेनले पनि आर्थिक सहयोग गरेका छन्।
आइतबार बिहान एउटा फेसबुक पोस्ट लेख्दै जाजरकोट र रुकुमका भुकम्प पीडितको लागि ६१ हजार ५ सय सहयोग गरेको जानकारी दिएका हुन्। उसो त उनले ‘पिएम दैवी प्रकोप उद्धार कोष’ पैसा पठाएको भौचर पनि सार्वजनिक गरेका छन्।
‘थोपा-थोपा मिलेर सागर बन्छ भनेजस्तै एउटा सानो सहयोग स्वरूप आशुसेन फिल्म प्रोडक्सनको तर्फबाट पिएम दैवी प्रकोप उद्धार कोषमा ६१ हजार ५ सय रुपैया सहयोग गरेका छौं, सन्तोषले फेसबुक पोस्टमा लेखेका छन् , ‘हरेक नेपालीले जसले आ-आफ्नो ठाउँबाट जेजस्तो सहयोग गर्नुभएको छ सबैप्रति हार्दिक आभार। जाजरकोट-रुकुम फेरी उठाउन हामी सबै जुटेर एक हौँ। साथै उद्धारकार्यमा सरकारी तवरबाट तुरुन्तै भएको उद्धार कार्य र प्रधानमन्त्रीको तर्फबाट भएको कदमको प्रशंसा गर्नैपर्छ।’
सन्तोष सिनेमा निर्माण अनि निर्देशनसँग सामाजिक कार्यमा पनि निकै अग्रसर छन्। समाजका हरेक विषयमा उनले एकदम चासो राख्छन्। त्यसैले पनि आज आइतबार रिलिज हुने भनिएको ‘बलिदान’को टिजर रिलिजलाई सन्तोषले स्थगित गरेका छन्। देश शोकमा डुबिरहेको बेलामा टिजर रिलिज गर्न त्यति सान्दर्भिक नभएको भन्दै उनले आज रिलिज नगर्ने भएका हुन्। ‘बलिदान’ सन्तोषको नयाँ ड्रीम प्रोजेक्ट हो।