Sur Cinema

पल शाहले गरे जाजरकोटका भुकम्प पीडितलाई ५० हजार सहयोग

काठमाडौं : शुक्रबार राति गएको भुकम्पले यतिबेला जाजरकोट र रुकुमले ठुलो मानवीय क्षति बेहोर्नु परेको छ। कसैका सन्तान गुमेका छन् त कसैका घर भत्केका छन्। यस्तो अवस्थामा यतिबेला धेरैले उक्त भुकम्प प्रभावित क्षेत्रमा सहयोग गरिरहेका छन्। धेरै व्यक्ति एवम् संघसंस्थाहरु राहत लिएर पनि प्रभावित क्षेत्रमा पुगेका छन्।

यसैबीच, नायक पल शाहले पनि जाजरकोटका भुकम्प पीडितको लागि तत्काल व्यक्तिगत ५० हजार सहयोग गरेका छन्। उनले शनिबार आफ्नो सामाजिक संजाल फेसबुक मार्फत व्यक्तिगत आर्थिक सहयोग गरेको जानकारी दिएका हुन्।

‘जाजरकोटमा गएको भुकम्पले धेरै मानवीय र भाैतिक क्षति भएकाले मैले तत्कालका लागि व्यक्तिगत रूपमा रू पचास हजार हाम्रो टिम नेपालकाे मार्फत सहयोग गरेको छु।’, पलले फेसबुकमा लेखेका छन्, ‘हाम्रो टिम राहत र स्वास्थ्य टाेलि सहित जाजरकोट जाँदैछ। धेरै घरहरू भत्केकाले धेरै नागरिकहरू खुला आकाशमुनि बस्न र खानपिनकाे व्यवस्थापन नभएको र घाइतेहरूलाई छिटाे उद्वार गर्ने सम्बन्धि निकाएलाई अनुरोध गर्दै याे दुखकाे घडीमा सम्पूर्ण नेपालीहरू एक भएर उद्वार र सहयोग गर्न अनुरोध गर्दछु।’

पलका अलावा अहिले धेरै व्यक्तिहरुले भुकम्प प्रभावित क्षेत्रमा व्यक्तिगत सहयोग गरिरहेका छन्। सामाजिक कार्यमा निकै अग्रसर रहने पलले यस् अघि कोरोनाको समयमा पनि धेरैले ठाउँमा सहयोग गरेका थिए।