काठमाडौं : नेपाली बक्स अफिसमा सर्वाधिक कमाई गरेको सिनेमा ‘कबड्डी ४’ले यतिबेला युट्युबमा दर्शकको साथ पाइरहेको छ। निर्माण टिमले मंगलबार ‘बाँसुरी फिल्मस’को युट्युब च्यानलमा सिनेमा रिलिज गरेको हो।
युट्युबमा रिलिज भएको २४ घण्टा नबित्दै सिनेमा ट्रेन्डिङमा पर्न सफल भएको छ। यो समाचार तयार पार्दासम्म १६ लाख बढी भ्युजसहित सिनेमा युट्युबको ट्रेन्डिङ दुईमा पर्न सफल भएको छ। हलमा हेर्न छुटाएका अधिकांश दर्शकले युट्युबमा हेर्न पाउँदा निकै खुशी छन् यतिबेला।
हलमा दर्शकको अथाह माया पाएको सिनेमाले युट्युबमा पनि असीमित माया पाएको छ। राम्रो भ्युजसहित राम्रो प्रतिक्रिया सिनेमाले युट्युबमा पाएको छ। हलमा भने सिनेमा डेढ वर्ष अघि रिलिज भएको थियो।
सिनेमामा दयाहाङ राई, मिरुना मगर, सौगात मल्ल, गौमाया गुरुङ, विजय बराल, बुद्धि तामाङ, पुष्कर गुरुङ, कमलमणी नेपाल लगायतका कलाकारहरुको अभिनय रहेको छ। बाँसुरी फिल्मसको ब्यानरमा निर्माण भएको सिनेमामा रामबाबु गुरुङको निर्देशन रहेको छ।
उपेन्द्र सुब्बा र रामबाबु गुरुङको संयुक्त कथा सिनेमामा छ। ३ करोडमा बनेको सिनेमाले हलबाट २२ करोड ७३ लाख ग्रस कलेक्सन गर्न सफल भएको थियो। हेर्नुस् पूरा सिनेमा युट्युबमा..