काठमाडौं । राष्ट्रकवि माधवप्रसाद घिमिरेको जन्मजयन्तीको अवसर पारेर विश्वभर छरिएर रहेका नेपालीहरुको साझा साहित्यिक संस्था `अन्तराष्ट्रिय नेपाली समाज´ ले `अनेसास कविता महोत्सव २०२३´ प्रतियोगितात्मक कार्यक्रम सम्पन्न गरेको छ।
यही असोज ७ गते अनेसासका संस्थापक अध्यक्ष होमनाथ सुवेदी प्रमुख अतिथ्यमा सम्पन्न सो कार्यक्रमको सभापतित्व अनेसास केन्द्रका अध्यक्ष गोबर्द्धन पुजाले गरेका थिए । कार्यक्रममा अनेसास बिओटी सभापति पदम विश्वकर्माद्वारा शुभकामना व्यक्त र संस्थाका सल्लाहकार प्रतीक ढकालद्वारा राष्ट्रकवि घिमिरेको साहित्यिक योगदानका बारेमा चर्चा गरिएको थियो।
कार्यक्रममा राष्ट्रकवि घिमिरेका छोरीद्वय ज्योति पौडेल र शान्ति घिमिरेका साथै अनेसासका उपाध्यक्ष राजेन्द्र श्रेष्ठ, डा. रेणुका सोलु, महासचिव विमला निरौला, सदस्य तारा अधिकारी लगायतले मन्तव्य दिएका थिए ।
जुम प्रविधि मार्फत सम्पन्न गरिएको यस प्रतियोगितामा अमेरिकाको भर्जिनिया निवासी जगन्नाथ पौडेल प्रथम, ऋषभदेव घिमिरे द्वितीय र क्रमश: आनन्द श्रेष्ठ ( न्यूजर्सी, अमेरिका) , मदन घिमिरे ( कास्की, नेपाल) र सुमन शिरिष (सिन्धुपाल्चोक) ले तृतीय स्थान प्राप्त गरेका छन् ।
३०१ जना कविहरु सहभागी रहेको प्रतियोगितामा उत्कृष्ट ७६ जनाले रचना वाचन गरेका थिए । साहित्यकार वियोगी बुढाथोकी, रोशन थापा `नीरव´ र सुस्मिता नेपाल निर्णायकका रुपमा रहेका थिए । कार्यक्रमको पुरस्कार रकमलाई भने क्रमशः तीर्थ पाण्डे, ईश्वरी भट्ट, तीर्थराज अधिकारी, नेत्रवन्धु पोखरेल र सम्झना आचार्यले प्रायोजन गरेका हुन् ।