Sur Cinema

Edit Content
Edit Content

ताजा अपडेट

अब नेपाली सिनेमा विश्वको कुनाकुनामा प्रदर्शन गर्ने बाटो खुल्यो

काठमाडौं : अब नेपाली सिनेमाले पनि बलिउड, हलिउडका सिनेमा सरह सजिलै विश्वभर प्रदर्शन पाउने भएको छन् । सिनेमाको डिजिटल रिलिजमा अग्रणी स्थान लिएको कम्पनी मध्येको एक अमेरिकन कम्पनी ‘रिलिज वर्ल्ड’ले हालै मात्र एसियाका सिनेमा प्रदर्शन गर्ने बाटो खुल्ला गरेको हो ।

रिलिज वर्ल्ड’ ले विश्वका चर्चित नेटफ्लिक्स, एमेजोन प्राइम भिडियो लगायतका ३ सय भन्दा बढी ओ.टि.टी. प्लेटफर्महरुमा अब एकसाथ नेपाली सिनेमाहरू पनि प्रदर्शन गराउनेछ । यो कम्पनिले आफ्नो प्लेटफर्ममा सिनेमा प्रदर्शन गर्दा ५ बिलियन अमेरिकी डलरसम्म आम्दानी गरेर आफ्नो रेकर्ड राख्न सफल छ ।

एसिया हेर्ने मुख्य कार्यालय मुम्बईमा रहेको यो कम्पनिको तर्फबाट नेपालको फिल्म वितरण तथा निर्माण कम्पनि नमस्ते इन्टरटेन्मेन्टले नेपाली सिनेमालाई उक्त प्लेटफर्ममा रिलिज गराउनेगरि आधिकारिकता लिएको छ । हालै उक्त कम्पनिका प्रमुख सिनेमा निर्देशक शिव घिमिरेले नेपाली सिनेमाको लागि आधिकारिकता हासिल गरेका हुन् । अब ५५ बढि भाषामा नेपाली सिनेमालाई ओटिटीमा पुर्याउन यो कम्पनिले सघाउनेछ । विश्वभरि छरिएर बसेका नेपाली सिनेमाप्रेमी दर्शकहरुले सर्च इन्जिनमार्फत सजिलै उनीहरुले प्रयोग गर्ने ग्याजेटहरुमा चलचित्र हेर्न सक्ने छन् । आफ्नो जीवन नै नेपाली सिनेमामा समर्पित भएको हुनाले अथक प्रयासका साथ यो प्रविधि नेपाल भित्र्याउन सफल भएको बताए ।

नेपाली सिनेमाका निर्माताहरुले रिलिज वर्ल्डमा सिनेमक प्रदर्शन गर्न के गर्नुपर्छ र उनीहरुले आफ्नो सिनेमाको आम्दानी कसरी प्राप्त गर्छन् भन्ने प्रश्नको उत्तरमा घिमिरे भन्छन्ः विश्वका विकसित देशका निर्माताहरुको पहिलो रोजाइको रुपमा रहेको www.releasesworld.com आफैले लग इन गरी आफुले चाहेको डेटमा सिनेमा रिलिज गर्न सकिनेछ। साथै सिनेमाबाट भएको आम्दानी कहाँबाट कति भयो कुन देशमा सिनेमाले कति व्यापार गर्यो भन्ने कुरा स्वयंम निर्माताको लग इन एकाउन्टमा हेर्न सकिने घिमिरेले बताए ।

नेपालमा सिनेमा हलबाहेक सम्पूर्ण डिजिटल राइट ९९ वर्षको लागि बेच्ने प्रचलन रहँदा यस्तो अवस्थामा निर्माताहरुले कसरी रिलिज वर्ल्डमा सिनेमा प्रदर्शन गर्न सक्छन् ? घिमिरे भन्छन्ः ‘यो हाम्रो नेपाली सिनेमा उद्योगको लागि दुर्भाग्यपूर्ण हो की कुनै पनि देशमा कसैले सिर्जना गरेको बौद्धिक सम्पति ९९ बर्षसम्म बेच्ने प्रचलन कहिँ कतै छैन र अब निर्माताहरुले यस्तो कुरामा सचेत भएर अघि बढ्नुपर्ने बेला आएकोछ ।’  विश्वबजारमा चलचित्रको व्यापारको ७० प्रतिशत हिस्सा ओ.टि.टी प्लेटफर्महरुले ओगिटिसकेको अवस्थामा औसत नेपाली चलचित्रले जनसङख्याको आधारमा २० देखि ५० करोडको व्यापार गर्नुपर्ने हुन्छ तर त्यसको १० प्रतिशत व्यापार पनि गर्न सकिरहेको छैन, घिमिरेले भने यसैको लागि पनि यो प्लेटफर्म कोशेढुङगा साबित हुनसक्छ ।

नेपाली सिनेमा युट्युव र केहि नेपालकै ओटिटी फ्लेटफर्म बाहेक रिलिज नहुने हुँदा निर्माताले राम्रो सिनेमा बनाउँदा पनि सोचेअनुसारको बजार पाउन नसकेको अवस्थामा इन्टरनेशनल रूपमा ओ.टि.टी.मा सिनेमा प्रदर्शन गर्दा २५ देखि ३५ प्रतिशत सम्म व्यापार बृद्धि गर्न सकिने सम्बन्धित कम्पनिले दाबी गरेको छ ।  निर्देशक घिमिरे भन्छन्ः ‘फेसबुक र युटुवमा ५० लाख दर्शकले सिनेमा हेरे भने ५० देखि १ करोड भन्दा बढी रकम प्राप्त गर्न सक्दैनन् तर यहि दर्शकले ओ.टि.टी प्लेटफर्ममा यसरी नै सिनेमा हेर्दा २७ देखि ३२ करोडको व्यापार हुन जान्छ, नेपाली निर्माताले समयमै यो बारेमा सोच्न जरूरी छ ।’