काठमाडौं : भारतिय गायिका साधना सरगमले गाएको एक नेपाली गीत ‘शान्ति ’ को भिडियो सार्वजनिक भएको छ । विश्व शान्ति दिवसको अवसर पारेर संविधान दिवसका दिन राजधानीको कुञ्ज थिएटरमा आयोजित कार्यक्रममा सो म्युजिक भिडियो सार्वजनिक गरिएको हो । एडभटाइजिङ नेपालको प्रस्तुति रहेको यस गीतमा हेमप्रभास अधिकारीको शब्द र सन्तोष श्रेष्ठको संगीत रहेको छ ।
कार्यक्रममा बोल्दै संविधानविद् डा. भीमार्जुन आचार्यले गीतमार्फत् आएको यस खालको शान्ति सन्देशले विशेष अर्थ राख्ने बताए । त्यस्तै सबनम मुखियाले निर्माणका दृष्टिले पनि सुन्दर रहेको यस किसिमको गीतको महत्त्व विश्वजननि चेतनाको उपज भएको बताइन् ।
रक्षा श्रेष्ठ, एभेलिना खड्का, दिया गिरी लगायतका कलाकारहरुको अभिनय रहेको यो भिडियो अजय रेग्मीले छायाङ्कन, टेकेन्द्र शाहले दृश्य सम्पादन र हेमप्रभासले निर्देशन गरेका हुन् ।
विश्वभरका मानिसहरुबिच एकताको भावना झल्काउँदै आफ्नो भाषा, कला र मौलिक संस्कृतिको प्रबर्धन गर्ने अभिप्रायले यस खालको गीत निर्माण गरेको एडभरटाइजिङ नेपालका प्रबन्धक प्रकाश अर्यालले जानकारी दिए ।















