काठमाडौं : यो वर्ष सकिनको लागि जम्मा १ दिनमात्र बाँकी छ। चलचित्र विकास बोर्डले सार्वजनिक गरेको तथ्यांकका अनुसार यो वर्ष मात्रै ४६ वटा नेपाली सिनेमाहरु प्रदर्शन भइसकेका छन् । त्यसो त, विकास बोर्डले सिनेमाहरुले नेपालमा गरेको कमाई पनि सार्वजनिक गरेको छ। सार्वजनिक भएका सिनेमाहरु मध्ये सर्वाधिक कमाई गर्ने ५ नेपाली सिनेमाहरु यि हुन् :-
१ ) कबड्डी : सुरुमै चर्चा गरौं सर्वाधिक कमाई गर्ने पहिलो सिनेमाको बारेमा। धेरै कमाई गर्ने नेपाली सिनेमा मध्ये पहिलो नम्बरमा रहेको छ सिनेमा ‘कबड्डी ४’। यो सिनेमाले ५१ औं दिन मनाउँदै नेपाली २१ करोड ३८ लाख कमाई गर्न सफल भएको हो।
रामबाबु गुरुङ निर्देशित यस् सिनेमालाई दर्शकले औधी रुचाएका थिए। हलहरुमा यो सिनेमाले हाउसफुल व्यापार गर्न सफल भएको थियो। प्रायः हलहरु हाउसफुल थिए। यो सिनेमा जेष्ठ १३ गतेबाट प्रदर्शनमा आएको थियो।
सिनेमामा दयाहाङ राई, सौगात मल्ल, मिरुना मगर, बुद्धि तामाङ, विजय बराल लगायतका कलाकारहरुको अभिनय रहेको छ। उपेन्द्र सुब्बा र रामबाबु गुरुङले संयुक्त रुपमा चलचित्र लेखेका हुन् । सिनेमाका कार्यकारी निर्माता अर्जुन कार्की हुन्।
कमेडी जनरामा आधारित भएर पनि होला दर्शकले यो सिनेमालाई अथाह माया गरे। फलस्वरूप सिनेमाले यस् वर्षकै सबैभन्दा धेरै व्यापार गर्न सफल रह्यो।
२ ) छक्का पन्जा ४ : त्यस्तै, यो वर्ष सर्वाधिक कमाई गर्ने दोस्रो सिनेमा हो ‘छक्का पन्जा ४’। यो सिनेमा गत फागुन १९ गतेबाट प्रदर्शनमा आएको थियो। अनमोल केसी स्टरर सिनेमा ‘छड्के २’सँग भिडियो ‘छक्का पन्जा ४’ले लगातार हाउसफुल व्यापार गर्दै दर्शकको मन जित्यो। सिनेमा विकास बोर्डले सार्वजनिक गरेको तथ्यांक अनुसार ‘छक्का पन्जा ४’ले हालसम्म १६ करोड ९४ लाख कमाई गर्न सफल भएको छ।
हप्तौंसम्म यो सिनेमाले हल हाउसफुल बनायो। समसामयिक राजनीति र कर्मचारी तन्त्रको कथालाई व्यंग्यात्मक तरिकाले चलचित्रमा देखाइएको छ। केदार घिमिरे ‘माग्ने बुढा’, दीपकराज गिरी, दिपाश्री निरौला, बुद्धि तामाङ, राज आचार्य, बेनिशा हमाल लगायतका कलाकारहरुको यस् चलचित्रमा अभिनय रहेको छ
यो सिनेमालाई हेमराज विसीले निर्देशन गरेका हुन् ।भने सिनेमाको कथा दीपकराज गिरीले लेखेका हुन्। सिनेमा अहिले पनि हलमा प्रदर्शनरत छ। यो सिनेमाका कार्यकारी निर्मातामा केदार घिमिरे ‘माग्ने बुढा’ र निर्मल शर्मा रहेका छन्।
३ ) प्रेमगीत ३ : अब चर्चा गरौं यो वर्ष सर्वाधिक कमाई गर्न तेस्रो सिनेमाको बारेमा। यो वर्ष ‘प्रेमगीत ३’ सबैभन्दा धेरै कमाउने सिनेमामध्ये तेस्रो नम्बरमा परेको छ। स्वर्गीय छेतेन गुरुङ र सन्तोष सेनद्वारा निर्देशित यो सिनेमाले ७ करोड ७० लाख कमाई गरेको छ।
नेपालमा मात्र नभएर भारतमा समेत एकसाथ प्रदर्शनमा आएको यो सिनेमाले एक खालको तरङ्ग मच्चाएको थियो। सिनेमा गत असोज ७ गतेबाट प्रदर्शनमा आएको थियो। सिनेमामा अभिनेता प्रदीप खड्का र नव अभिनेत्री कृष्टिना गुरुङको जोडी रहेको छ।
त्यसो त, सिनेमामा प्रदीप र कृष्टिनाका अलावा मनिष राउत, शिव श्रेष्ठ, सुनिल थापा लगायतको अभिनय रहेको छ। कृष्टिनाले यसै सिनेमाबाट नेपाली रजतपटमा डेव्यू गरेकी थिइन्। यो सिनेमा रिलिजपछि उनको निकै तारिफ समेत भएको थियो। ‘प्रेमगीत ३’ पछि कृष्टिनाले कुनै पनि चलचित्रमा काम गरेकी छैनन्।
४) महापुरुष : चौथो नम्बरमा रहेको छ सिनेमा ‘महापुरुष’। विकास बोर्डको तथ्यांकका अनुसार यो वर्ष सर्वाधिक कमाई गर्ने सिनेमा मध्ये चौथो नम्बरमा रहेको ‘महापुरुष’ले नेपालमा ७ करोड ३८ लाख कमाई गर्न सफल भएको छ।
व्यापार ठिकै गरेपनि सिनेमाले हलहरुमा हाउसफुल व्यापार गर्न सफल भएको थियो। हप्तौंसम्म दर्शकको भिडले हल भरिभराउ भएका थिए। सिनेमाले ५१ औं दिन समेत मनाउन सफल भएको थियो। सिनेमा गत कार्तिक ११ गतेबाट प्रदर्शनमा आएको थियो।
पारिवारिक कथावस्तुमा आधारित यो सिनेमामा हरिवंश आचार्य, मदनकृष्ण श्रेष्ठ, राजाराम पौडेल, गौरी मल्ल, रविन्द्र सिंह बानियाँ, अन्जना बराइली, अरुण क्षेत्री लगायतका कलाकारहरुको अभिनय रहेको छ।
एकल बुवाको भुमिकामा देखिएका हरिवंशलाई यो सिनेमामा औधी रुचाइएको थियो। सिनेमामा प्रदीप भट्टराईको निर्देशन एवम् लेखन रहेको छ। यसै सिनेमाबाट अरुण र अन्जनाले डेव्यू समेत गरेका थिए। पहिलो सिनेमाबाटै हिटको स्वाग यि दुईले चाख्न सफल भएका थिए।
५) दुई नम्बरी : यो वर्ष रिलिज भएका सिनेमाहरू मध्ये पाँचौ नम्बरमा व्यापार गर्न सफल सिनेमा हो ‘दुई नम्बरी’। यो सिनेमा नपत्याउँदो पारामा चल्यो। सुरुमा खासै शो नपाएको यो सिनेमाले विस्तारै हाउसफुल व्यापार गर्न सफल भएको थियो।
गत असोज २१ गतेबाट प्रदर्शनमा आएको यो सिनेमाले विकास बोर्डको तथ्यांकका अनुसार नेपालमा ३ करोड ८४ लाख कमाई गर्न सफल भएको छ। दिपेन्द्र लामा निर्देशित यो सिनेमामा दयाहाङ राई, सौगात मल्ल, उपासना सिंह ठकुरी, बुद्धि तामाङ, उगेन छोदेन लगायतका कलाकारहरुको अभिनय रहेको छ।
कमेडी जनरामा बनेको यो सिनेमालाई पनि दर्शलले राम्रै साथ दिएका थिए।