काठमाडौं
नेपाल ग्रामीण चलचित्र महोत्सवको दोश्रो संस्करण आगामी बैशाखमा हुने भएको छ । सेलिब्रेटी नेपालको आयोजना रहेको महोत्सवको उद्धेश्य पर्यटन प्रवर्द्धनसँगै नेपाली सिनेमालाई ग्रामीण बजारमा पुर्याउने रहेको जानकारी महोत्सवका अध्यक्ष रघुनाथ सापकोटाले दिए ।
सेलिब्रेटी नेपालले आयोजना गर्न लागेको महोत्सवमा नेपाली मौलिक ग्रामिण कथा वस्तुमा बनेका सिनेमा सहभागी रहने छ । महोत्सवको लागी सिनेमा दर्ता आव्हान गरिएको आयोजक संस्थाले जानकारी दिएको छ।
महोत्सवमा गाउँले परिवेशमा निर्माण गरिएका स्वदेशी छोटा सिनेमा, डकुमेन्ट्री, फिचर सिनेमा र भाषाभाषीका सिनेमा सहभागी हुने छन् । जुरी टिमले छनोट गरेका सिनेमाहरू अत्याधुनिक प्रविधिमा स्क्रिनिङ गर्ने र उत्कृष्ट सिनेमालाई अवार्ड प्रदान गरिने आयोजकले जनाएको छ ।
दर्शकलाई नेपाली मौलिक सिनेमाप्रति आकर्षित गराउनु र नियमित सिनेमा हेर्ने बानी बसाल्नु, ग्रामीण कथामा बनेका सिनेमाहरुलाई विश्वमाझ पुर्याउनु र स्थानीय क्षेत्रको भाषा, कला, संस्कृति एवं पर्यटकीय क्षेत्रको प्रवर्द्धन गर्नु महोत्सवको मुख्य उद्देश्य हो। गत बर्ष गोरखा जिल्लाको लाप्राकमा सम्पन्न महोत्सवमा राम्रै दर्शकको उपस्थिति रहेको थियो। यो वर्ष महोत्सव हुने स्थान भने फाइनल भई नसकेको आयोजकले बताएको छ। महोत्सवमा सहकार्य चलचित्र विकास बोर्डले गरेको छ।