Sur Cinema

Edit Content
Edit Content

ताजा अपडेट

‘प्रेमा अहिलेसम्म बनेका प्रेमकथाभन्दा फरक छ’ : विवेक घिमिरे

काठमाडौं
त्रिकोणात्मक प्रेमकथाको सिनेमा ‘प्रेमा’ चैत १७ अर्थात मार्च ३१ बाट रिलिज हुँदैछ । गोविन्द सिंह भण्डारी निर्देशित सिनेमा प्रमुख कलाकारहरु शुभेक्षा खड्का, अरुण क्षेत्री र सृष्टि श्रेष्ठ वरपर घुमेको छ ।

सिनेमामा गोविन्द र विवेक घिमिरेको लगानी छ । अमेरिकाको बोस्टन, मेसाच्युसेटमा बस्ने विवेक सिनेमा ‘चिनी कम रङ कडा’ का निर्देशक समेत हुन् । विवेक नेपालमा नेपाली कथा खोज्न मन पर्ने भएकाले ‘प्रेमा’मा लगानी गरेको बताउँछन् । ‘विदेशमा पनि नेपाली कथाहरु भेटिन्छन् । तर नेपालमा जस्तो नेपाली कथाहरु भेटिँदैन’, उनी भन्छन् ।

सन् ८० र ९० को दशकबीचमा हुर्किएका विवेकको सम्झनामा त्यो समयमा मनोरञ्जनका लागि धेरै विकल्प थिएनन् । ‘बाल्यकालदेखि नै सिनेमा हेरेर रमाउँथे । त्यही समयदेखि सिनेमा निर्माण सम्बन्धी अध्ययन गर्छु भनेर प्रण लिएँ । जुन प्रणलाई डिग्रीमार्फत पुरा गरें’, विवेकको भनाइ छ ।

विवेक ‘प्रेमा’को नौलो स्क्रिप्टले आफू तानिएको दाबी गर्छन् । उनले स्क्रिप्टपछि निर्देशक गोविन्दको काम गर्ने शैलीबाट आफू प्रभावित भएकाले पनि सिनेमासँग जोडिएको बताए ।

‘गोविन्दजी र मैले पहिला ‘चिनी कम रङ कडा’मा सहकार्य गरिसकेका थियौं । मलाई सिनेमा निर्माणमा चासो पहिलादेखि नै थियो । मेरो अगाडि प्रेमाको स्क्रिप्ट आएपछि त्यसको कथावस्तुले लगानी गर्न आकर्षित गर्यो’, विवेकले भने ।

विवेकलाई सबै जनराका सिनेमा मन पर्छ । त्यहीकारण उनी एक्सन, प्रेमकथा, कलात्मक र सांगीतिक फिल्म हेर्न छुटाउदैनन् । उनी राम्रो जनराको कन्सेप्टमा स्क्रिप्ट आउँदा लगानी गर्न उत्साहित हुन्छन् ।

विवेकका अनुसार उनले ‘प्रेमा’लाई अमेरिकासहित विश्व बजारमा रिलिजको तयारी गरिरहेका छन् । ‘हामीले यसका बारेमा योजना र रणनीति बनाइसकेका छौं’, उनी भन्छन् ।

विवेक ‘प्रेमा’को कास्टिङ क्रु, स्क्रिप्ट, प्राविधिकसँग सन्तुष्ट छन् । आफ्नो सिनेमाको स्क्रिप्ट, कन्सेप्ट र छायाङ्कनसँगै निर्देशक गोविन्दको कामले पनि अहिलेसम्म बनेका प्रेमकथाका सिनेमा भन्दा ‘प्रेमा’ फरक रहेको दाबी गर्छन् ।

उनले नेपाली सिनेमा निर्माताले गुणस्तरीय सिनेमामा ध्यान दिन सके नेपाली सिनेमालाई विश्वबजारमा पुर्याउन कुनै समस्या नहुने बताए । उनको अनुभवमा पछिल्लो समय विशेषत गैर आवासीय नेपालीहरुले नेपाली सिनेमाप्रति चासो देखाइरहेकाले यसलाई सिनेकर्मीले अवसरका रुपमा लिनुपर्ने सुझाव छ ।