काठमाडौं:
रेट्रो गु्रपको व्यानरमा सिनेमा ‘द आउट ल’ निर्माणको घोषणा भएको छ । निर्माण टिमले अंगेजी नयाँ वर्षको छेको पारेर यो सिनेमाको घोषणा गरेको हो । निर्माण टिमले सिनेमाको घोषणासँगै सिनेमाको थिम टिजर र फस्टलुक पोस्टर समेत सार्वजनिक गरेका छ ।

यस सिनेमामा अभिनेता सुशील श्रेष्ठ, शिक्षा संर्गौला, नरेश पौडेल, सुमन भण्डारी, हेम गुरुङ, विशाल पहारी, महेश त्रिपाठी, लगायतका कलाकारको मुख्य भुमिका रहने छ । सिनेमा ‘द आउट ल’ पुर्ण एक्सन–थ्रिलर जनरामा निर्माण हुने निर्माता शशांक खड्काले बताए । विक्की महर्जनको निर्देशनमा निर्माण हुन लागेको यो सिनेमाले कानुन नमान्ने व्यक्तिको कथा बोल्नेछ ।

कोरोना महामारीपछि अभिनेता सुशीलको लागि यो कमब्याक प्रोजेक्ट रहेको छ । सन् २०१५ मा होस्टेल रिटन्र्सबाट अभिनय करिअर सुरु गरेका सुशीलले सिनेमा ‘सायद २, कारखाना र बादशाह जुट’ लगायतमा अभिनय गरेका छन् । त्यस्तै यहि सिनेमाबाट मोडल शिक्षाले सिनेक्षेत्रमा डेब्यु गर्दैछिन् ।
शशांक खड्का र अमित अग्रहरीको लगानीमा निर्माण हुने यस सिनेमाका कार्यकारी निर्माता विनोद कडायत रहेका छन् । कडायत सिनेमा ‘प्रेम गीत ३’ का आर्ट डिरेक्टर समेत हुन् । संयोगको कुरा त के छ भने, यो निर्माण टिममा अधिकांश सिनेमा पढेका र ३० वर्ष मुनिका युवाहरु छन् ।
यहि जनवरी ५ बाट निर्माण टिम फ्लोरमा निस्कने निर्माता खड्काले जानकारी दिए । नविन गुरुङ सिनेमाका डिओपी हुन् । २ करोड हाराहारी बजेटमा निर्माण हुने यो सिनेमा आगामी वर्षको दशैंमा प्रदर्शन गर्ने निर्माण टिम पक्षको भनाई छ ।