Sur Cinema

Edit Content

ताजा अपडेट

क्वालिटी इन्टरटेनमेन्ट अवार्डमा अश्विनीलाई वर्ष व्यक्तिको सम्मान

काठमाडौं
चर्चित पेजेन्ट कोरियोग्राफर अश्विनी झालाई क्वालिटी इन्टरटेनमेन्ट अवार्डको दोश्रो संस्करणमा यस वर्षको “राष्ट्रिय वर्ष व्यक्ति सम्मान” बाट सम्मानित गरिएको छ। राष्ट्रिय नाचघर जमलमा आयोजित उक्त कार्यक्रममा प्रमुख अतिथि प्रथम उपराष्ट्रपति झा सहित आयोजक संस्था क्वालिटी फिल्मसका अध्यक्ष उमेश गुरुङ, कलाकार संघका उपाध्यक्ष मोहन निरौला लगायतले दोशल्ला र सम्मान-पत्र सहित झालाई सम्मानित गर्नुभएको थियो।

कार्यक्रम आयोजक संस्थाका प्रमुख उमेश गुरुङ्गले नेपाली सौन्दर्य प्रतियोगिता तथा फेसन कोरियोग्राफीमा एक दरिलो खम्बाको रुपमा अडिग र पृथक पहिचान बनाउन सफल कोरियोग्राफर अश्विनी कान्त झालाई नेपाली फेशन तथा पेजेन्ट जगतमा पुर्याउनु भएको अतुलनिय योगदानलाई कदर गर्दै सम्मानित गर्न पाएकोमा निकै खुशी लागेको बताउनु भयो। यसअघि नेपाली कला क्षेत्रमा कोरियोग्राफीका माध्यमले पुर्याएको योगदनलाई मूल्यांकन गर्दै नेपाल सरकार युवा तथा खेलकुद मन्त्रालयबाट प्रदान गरिने ‘राष्ट्रिय युवा प्रतिभा सम्मान २०७७’ का विजेता कोरियोग्राफर अश्विनीलाई मधेश प्रदेश सरकार ”महिला, बालबालिका, युवा तथा खेलकुद मन्त्रालयबाट ” मधेशका मान ” सम्मान सहित नेपाल म्युजिक एंड फेशन अवार्डमा ” बेस्ट कोरियोग्राफर” लगायत अन्तर्राष्ट्रिय स्तरमा सिंगापूरमा गोल्डेन ब्रान्ड अवार्डबाट पनि सम्मानित भईसक्नु भएको छ।

लामो समयदेखि पेजेन्ट तथा फेशन कोरियोग्राफरको रुपमा आफ्नो उत्कृष्टता प्रदान गर्दै आएका झाले थुप्रै राष्ट्रिय तथा अन्तराष्ट्रिय अवार्डका साथै सम्मान प्राप्त गरेका छन । ब्यूटी पेजेंट असोसीएसन अफ़ नेपालका संस्थापक सदस्य, अश्विनी फेशन डिजाईनर काउन्सिल अफ नेपालका सल्लाहकार समेत रहेका छन । कोरियोग्राफर अश्विनी वर्तमान समयमा नेपालका निकै व्यस्त तथा सफल कोरियोग्राफरमा पर्दछन् । सोहि कार्यक्रममा अन्य विभिन्न व्यक्तित्वहरुलाई पनि आ-आफ्नो क्षेत्रमा पुर्याउनु भएको बिशेष योगदानलाई कदर गर्दै यस वर्षको क्वालिटी इन्टरटेनमेन्ट लाईफ टाईम एचिभमेन्ट अवार्ड बरिष्ट ध्वनी सम्पादक दीका गुरुङलाई प्रदान गरिएको थियो साथै चलचित्र तथा संगीत पत्रकारिता पुरस्कार पत्रकार डब्बु क्षत्रीलाई प्रदान गरियो।

अभिनेता धिरेन शाक्यलाई विशेष सम्मानका साथै मेकअप आर्टिष्ट टेकराज पाण्डेलाई वर्षको उत्कृष्ट मेकअप आर्टिष्ट सम्मान, साहित्यकार सुरेन्द्र महर्जन ‘अमर’, संगीतकार राजेन्द्र बजगाई, संगीत संयोजक राजु खड्का, सञ्चारव्यबसायी सुमित प्रताप जबरा, जेष्ठ समाजसेवी बेदी नारायण खापुङ लिम्बु लगायत अन्य व्यक्तित्वहरुलाई सम्मान प्रदान गरियो। उक्त अवार्ड समारोहमा चर्चित गायक आशिष सचिनले दाह्री फुल्यो सहित केही गीत प्रस्तुत गरेर दर्शकलाई नचाए । यस्तै अभिनेता गजित बिष्टको नृत्य, अभिनेत्री अरुसी मगरको नृत्यसँगै गायक टिका बमजनको गायन प्रस्तुतिले पनि कार्यक्रमको रौनकता बढायो ।