Sur Cinema

Edit Content
Edit Content

ताजा अपडेट

निर्देशन गर्नुभन्दा अभिनय गर्न धेरै सजिलो !

काठमाडौं : विगत लामो समयदेखि नेपाली सिनेमा क्षेत्रमा अनवरत रुपमा क्रियाशिल अभिनेता हुन् सरोज खनाल। एक समयमा उनले राम्रै राज गरेकस थिए नेपाली सिनेमा क्षेत्रमा।

सिनेमा क्षेत्रमा निकै व्यस्त भएको समयमा सरोज अमेरिका गएका थिए। केही समय अमेरिकामा विताएका सरोजलाई पुनः नेपाली सिनेमा क्षेत्रले तान्यो। उनले सिनेमा ‘नाईं नभन्नु ल ४’बाट सिनेमा क्षेत्रमा कमव्याक गरे।

‘प्रेमपिण्ड, विजय पराजय, जन्मभूमि, जन्मजन्म, चोखो माया, पुकार, सारंगी, रगत’ लगायतका हिट सिनेमामा काम गरिसकेका सरोजले हालसम्म ६० बढी सिनेमामा अभिनय गरिसकेका छन् ।

हाल सरोज सिनेमा निर्देशनमा होमिएका छन् । लामो समय अभिनयमा बटुलेको अनुभवलाई निर्देशनमा सदुपयोग गर्दैछन् सरोज। उनले ‘बगान’ सिनेमाबाट निर्देशनमा डेव्यु गरेका छन् । जुन सिनेमा आगामी फागुन १२ गतेबाट प्रदर्शनमा आउँदैछ। यसै सिनेमा र अन्य समसामयिक विषयको बारेमा खनालसँग सुरसिनेमाकर्मी सुरेन्द्र थापाले गरेको कुराकानीको संपादित अंश :

पहिले र अहिले सिनेमा खेल्दाको अनुभव कसरी साट्नु हुन्छ ?

अब पहिला मैले फिल्म खेल्दाखेरि फिल्मको केन्द्रिय पात्रको रुपमा म रहन्थेँ, हिरो। अहिले म सिनेमालाई सपोर्ट गर्ने भुमिकामा रहेको छु। हुन त कतिपय कलाकारहरुले म बूढो रोल गर्दिन, खेल्दिन भन्छन्। तर हेर्नुस् सच्चा कलाकारले राम्रो कुनै क्यारेक्टरको अफर आउँछ भने जुनसुकै भुमिका पनि हामीले निर्वाह गर्नुपर्छ।

‘बगान’ सिनेमासम्म आइपुग्दा तपाईंले कतिवटा सिनेमा गर्नुभयो ?

लगभग ६० वटा सिनेमा पुग्यो होला।

‘बगान’ सिनेमामा तपाइँलाई कुन कुराले तान्यो ?

मुख्य कुरा त कथाले नै हो मलाई तानेको। पछाडी बसेर डिरेक्सनको माध्यमबाट मलाई कुनैकुनै कथा भन्न मन लागिरहेको थियो। जुन कथा ‘बगान’मा छ। त्यसो त सामाजिक विषयको कथा बोकेका सिनेमा गर्दा चुनौती त धेरै छ। हत्तपत्त यस्ता सिनेमामा निर्माताले लगानी गर्न चाहँदैनन् ।

अनि डिरेक्सन गर्न पनि सामाजिक विषयमा निकै चुनौती छ। किनभने समाजलाई एउटा संदेश दिने काम हो। सिनेमाले मनोरञ्जन दिन्छ एउटा पाटो भयो तर संदेश पनि दिनसक्नुपर्छ।

यदि तालमेल मिलेन भने सिनेमाले जे भन्न खोजेको हो, त्यसको उल्टो प्रतिक्रिया आउँछ दर्शकबाट। त्यसैले चुनौतीपूर्ण काम हो। तर मलाई यस्तै काम गर्न मनपर्छ। त्यसकारण मैले ‘बगान’ रोजेँ।

सिनेमा खेल्न सजिलो कि निर्देशन गर्न ?

खेल्न धेरै सजिलो नि। खेल्दाखेरि एउटा क्यारेक्टरमा बाँचेर, अर्काको अन्डरमा काम गर्‍यो, काम सक्यो खुरुखुरु घर गयो। फेरि भोलिपल्ट आयो निर्देशकले जे भन्छ त्यही गर्‍यो।

तर निर्देशनमा त यस्तो हुँदैन। निर्देशनमा अनेकन जिम्मेवारी बहन गर्नुपर्छ। एउटा लाइटम्यानदेखि लिएर सिनियर आर्टिस्टहरुलाई समान व्यवहार दिएर काम गर्नुपर्ने हुन्छ। अब सिनियर आर्टिस्टलाई यहाँनेर मिलेन, फेरि गर्नुपर्‍यो भन्न निकै गाह्रो निर्देशकलाई। कतै रिसाउनुहुन्छ कि भन्ने लाग्दो रहेछ। म यस् कुरामा भाग्यमानी रहेछु। मैले ‘बगान’ सिनेमामा करिश्मा मानन्धरलाई एक ठाउँमा १९ टेकसम्म लिएको छु। तर उहाँ यस्तो कलाकार हो कि राम्रो काम दिन्छु भनेर सहज तरिकाले निकै मिहेनत गर्नुभयो।

फेरि सुटिङ सकिएपछि जुन पोस्टप्रोडक्सनको काम महाभारत रहेछ। जुनकुरा मलाई थाहै थिएन। पहिले अभिनय मात्र गर्दा निर्देशकले पोस्टप्रोडक्सनमा काम गरेको त देखेकै हो। तर सुटिङ सकिएर जब सिनेमा टेबुलमा आउँछ, तब काँटछाट गर्न निकै समय लाग्दो रहेछ। सुटिङ त मैले २१ दिनमै सकाएको हो। तर पोस्टप्रोडक्सनमा ३/४ महिना लाग्यो। धेरै समय दिनुपर्ने रहेछ। त्यसैले निर्देशनको काम निकै गाह्रो।

पछिल्लो समय सिनेमा चलाउन फन्डा गर्नुपर्छ भन्छन् । हल पाइएन भन्दै अनेक फन्डा गरेको पाइन्छ। के सिनेमा चलाउन फन्डै गर्नुपर्ने हो त ? के लाग्छ तपाइँलाई ?

पर्दैन, फन्डै गर्न पर्दैन नि। विषयबस्तु राम्रो छ, भन्न खोजेको कुरा सहि छ भने फन्डा गर्न पर्दैन। राम्रो सिनेमालाई फन्डा गर्न आवश्यक नै छैन। अब उदाहरण नै दिने हो भनेपनि ‘ऐना झ्यालको पुतली’लाई हेर्नुस् । यो सिनेमा कुनै फन्डा बिना कस्तो राम्रोसँग चल्यो। मैले २ पटक हेरेँ यो सिनेमा।

अब जुन सिनेमा आफैंमा कमजोर छ, त्यस्ता सिनेमालाई हो फन्डा चाहिने। राम्रो चिज त हेर्न दर्शक आइहाल्छन नि। आफैमा राम्रो सिनेमा छ भने यी सब आवश्यक नै छैन।

अन्तिममा एउटा प्रश्न, अघिल्लो पुस्ता भन्दा अहिलेको पुस्तामा संस्कार हरायो भनिन्छ, यस् विषयमा के छ तपाइँको धारणा ?

यो कुरामा पछिल्लो पुस्ताको मात्रै नभएर हाम्रो पनि दोष छ। हामीले पनि संस्कार नसिकाएको हो। हामीले पनि कति ठाउँमा संस्कार मानेका छैनौं नि त। हामीले गरेको संस्कार बाटै पछिल्लो पुस्ताले सिक्ने हो। तर संस्कार छ, हामीले सिकाउन जरुरी छ र संस्कारलाई बहन गर्न तयार पनि हुनुहुन्छ नयाँ पुस्ता।