काठमाडौं:- कार्तिक ११ गतेबाट रिलिजको तयारी रहेको सिनेमा ‘महापुरुष’ को प्रोमोशनल टुरको मिति तय भएसँगैं सिनेमा युनिटको टोली प्रचारात्मक अभियानमा जुटेका छन् ।
प्रचार प्रसारकै क्रममा निर्माण टिम यही असोज २५ गतेदेखी ३० गते सम्म देश दौडाहमा निस्कने भएको छ । टिममा लोकप्रिय मह जोडी, राजाराम पौडेल, गौरी मल्ल, रवीन्द्र सिंह बानिया , निर्देशक प्रदिप भट्टराई लगायत सिनेमाका करिब १५ कलाकारहरु रहने प्रोडक्सन म्यानेजर बिनिश थापाले जानकारी दिए ।
प्रोमोशन टिम देशका मुख्य ९ शहरहरु बिर्तामोड , दमक, इटहरी, बिराटनगर ,हेटौंडा , नारायणगढ,पोखरा ,बुटवल र काठमाण्डु मा पुगेर प्रेस भेट्घाट सहित स्टेज शो गर्नेछ । कार्यक्रम २५ गते दमक र बिर्तामोड , २६ गते इटहरी र बिराटनगरमा हुने स्थानिय मिडिया संयोजक बिनोद विश्वकर्माले जानकारी दिए भने कार्यक्रमको होस्ट अहिलेका चर्चित कमेडियन सुमन कार्कीले गर्नेछन ।
‘टलकजंग, टुल्के,जात्रा र जात्रै जात्रा जस्ता सफल सिनेमा निर्माण गरेको षट्कोण आर्ट्सको ब्यानरमा निर्माण भएको सिनेमा ‘महापुरुष’ मा मदनकृष्ण र हरिवंशसँगै रविन्द्र सिंह बानियाँ, गौरी मल्ल, अरुण क्षेत्री,अञ्जना बराइली,राजाराम पौडेल, शिखा तामाङ, कोपिला थापा, शिरु विष्ट, कविता श्रेष्ठ, नरेन्द्र कंसाकार, सविन बास्तोला, नरेश पौड्याल, प्रेम पाण्डे, सुमन रिमाल, माधव अधिकारी, प्रकाश भट्टराई, घनश्याम जोशी, अर्जुन आचार्य, प्रज्वल लुइँटेल लगायत कलाकारको अभिनय रहेकोछ । रविन्द्र सिंह बानियाँ कार्यकारी निर्माता र म्याक्स दिपेश खत्री सिनेमाका निर्माता हुन्। दीपक बज्रचार्यले छायांकन गरेको सिनेमालाई मित्रदेव गुरुङले सम्पादन गरेका छन्।