Sur Cinema

Edit Content

ताजा अपडेट

‘घर बनाएपछि पूजा कोठामा मह जोडीको फोटो राख्छु’- प्रदीप भट्टराई

१२ कार्तिक २०७९
काठमाडौं : यतिबेला हलमा सिनेमा ‘महापुरुष’ले दर्शकको राम्रो साथ पाइरहेको छ। शुक्रबारबाट प्रदर्शनमा आएको यस् सिनेमालाई दर्शकले औधी साथ दिइरहेका छन् ।

राजधानीका अधिकांश हलहरु हाउसफुल भएका छन् । राम्रो ओपनिङ गरेको ‘महापुरुष’ले दोस्रो दिन शनिबार पनि राम्रो व्यापार गरेको निर्माताहरुको भनाइ रहेको छ।

हलमा दर्शकले सिनेमा रुचाउँदा सिनेमा टिम यतिबेला हल भिजिट गर्दै दर्शक भेटघाट गर्नमा व्यस्त छ।

सिनेमाका कलाकार हरिवंश आचार्य, अरुण क्षेत्री, राजाराम पौडेल, गौरी मल्ल, अन्जना बराइली लगायतहरु यतिबेला विभिन्न हलमा पुगेर दर्शकको प्रतिक्रिया लिइरहेका छन् ।

त्यसो त, सिनेमाका लेखक एवम् निर्देशक प्रदीप भट्टराई पनि दर्शकको प्रतिक्रिया लिन हल भिजिटमा शुक्रबारदेखि धाइरहेका छन् ।

शनिबार हल भिजिटको कार्यक्रम सकेपछि निर्देशक भट्टराईले मिडियाकर्मीसंग आफ्ना भनाइहरु राखेका थिए। भनाइ राख्ने क्रममा अब बनाउने आफ्नो नयाँ घरको पूजा कोठामा मह जोडीको तस्वीर राख्ने बाचा गरेका छन् ।

‘अहिलेसम्म मेरो घर छैन। अब नयाँ घर छिट्टै बन्दैछ’, उनले मिडियासंग बोल्दै भने, ‘अब बन्ने नयाँ घरमा एउटा पूजा कोठा हुनेछ । पूजा कोठामा भगवानको फोटोसंगै मह जोडीको फोटो पनि हुन्छ । मदन दाइ र हरि दाइ मेरो लागि भगवान सरह हुनुहुन्छ ।’

साथै, आमाबुबा पछि सबैभन्दा धेरै साथ दिने र धेरै कुरा सिकाउने मह जोडी भएको पनि निर्देशक भट्टराईले बताए।

लगातार हिट सिनेमा दिन सफल निर्देशकको रुपमा चिनिएका भट्टराईले निर्देशित सिनेमाले यस् भन्दा अघि बक्स अफिसमा राम्रो व्यापार गर्न सफल भइसकेका छन् ।

प्रदर्शनरत ‘महापुरुष’बाट पनि भट्टराईले लेखन र निर्देशकिय पक्षबाट निकै राम्रो प्रतिक्रिया पाएका छन् ।