३ कार्तिक २०७९
काठमाडौं : त्यसो त, गायकहरु नायक बन्ने र नायकहरु गायक बन्ने क्रम नेपालमा पहिलेदेखि चल्दै आएको छ। यो कुनै नौलो कुरा भएन। यसैबीच, एक खालको स्पेस सिनेमा क्षेत्रमा बनाइसकेका अभिनेता सलोन बस्नेत पनि पछिल्लो समय गायनमा सक्रिय हुन थालेका छन् ।

प्रायः पप जनराका गीत गाउन रुचाउने सलोनले आधा दर्जन बढी गीत गाइसकेका छन् । भलै, दर्शक स्रोताले खासै नोटिस नगरेपनि गायनमा सलोनको सक्रियता भने बढ्दो छ।
सनोलसंगै अर्का नायक आमेश भण्डारी पनि पछिल्लो समय गायनमै सक्रिय हुन थालेका छन्। केही सिनेमामा नायकको भुमिका निर्वाह गरिसकेका आमेश पछिल्लो समय गायनमै व्यस्त हुन थालेका हुन् । सलोन र आमेश एक अर्काका मिल्ने साथी हुन् ।

प्रायः सँगसँगै देखिने सनोल र आमेशले संयुक्त रुपमा गीत गाएका पनि छन् । अब भने सलोन र आमेश विभिन्न कन्सर्टमा हिड्न थालेका छन् । काठमाडौंको दरबारमार्ग स्थित ‘लिक्युड लन्ज उडल्यान्ड’को आयोजनामा आगामी कार्तिक ६ गते हुने कन्सर्टमा आमेश र सलोनले युवायुवतीलाई झुमाउने भएका छन् । कार्यक्रम रातिको ९ बजेदेखि १२ बजेसम्म हुनेछ। सनोल र आमेशले आफ्ना हिट गीतहरु स्टेजमा प्रस्तुत गर्नेछन् ।